जर्मन च्याम्पियन बायर लेभरकुजेन युरोपा लिगको फाइनलमा पुगेको छ।
बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा इटालियन क्लब रोमासँग २-२ गोलको बराबरी खेलेको लेभरकुजेन समग्रमा ४-२ गोलले अघि रह्यो।
पहिलो लेगमा लेभरकुजेन २-० गोलले विजयी भएको थियो।
बिहीबार राति स्टानिसिक इन्जुरी मिनेटको सातौं मिनेटमा गोल गर्दा उसले हार टारेको थियो।
बराबरी खेलेसँगै लेभरकुजेन युरोपमा ४९ खेलसम्म अपराजित रहने पहिलो टोली बनेको छ।
सिजनमा सबै प्रतियोगितामा गरी ४९ खेलसम्म उसले हार बेहोरेको छैन। जसमध्ये ४० खेलमा लेभरकुजेनले जित हात पारेको छ।
यसअघि लेभरकुजेनले पहिलोपटक जर्मन बुन्डेसलिगाको उपाधि पक्का गरेको थियो।
अपराजित रहँदै युरोपा लिगको फाइनलमा पुगेसँगै पोर्चुगिज क्लब बेन्फिकाको नाममा रहेको ४८ खेलको अपराजित कीर्तिमान समेत भङ्ग गरेको छ।
अब उपाधिका लागि उसले अर्को इटालियन क्लब एटलान्टासँग २२ मेमा प्रतिस्पर्धा गर्नेछ।