सहिद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले रोमाञ्चक जित हात पारेको छ।
बिबिसीले आइतबार दशरथ रंगशालामा भएको खेलमा नेपाल एपिएफ क्लबलाई ३-२ ले पराजित गरेको हो।
खेलको ११ मिनेटमा दिनेश राईले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका थिए। उनको फ्रिकिकलाई एपिएफका गोलकिपरले रोक्ने कुनै मौका नै पाएनन्।
१७ मिनेटमा एपिएफका आसिस लामाले उत्कृष्ट फिनिसिङ गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए।
६५ मिनेटमा दिनेशले व्यक्तिगत दोस्रो गोल गर्दा बिबिसी २-१ ले अघि बढ्यो।
७७ मिनेटमा एपिएफले दोस्रो पटक खेललाई बराबरी ल्याउन सफल भयो। एपिएफका लागि विकी तामाङले गोल गरेका थिए।
इन्जुरी टाइममा सुरज गुरुङले गोल गरेपछि बिबिसीले ३-२ को रोमाञ्चक जित हात पार्न सफल भयो।