सहिद स्मारक ए डिभिजन लिग आजदेखि सुरू भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन्।
खेलको दोस्रो हाफमा फ्रेण्ड्स १० खेलाडीमा सीमित बनेको थियो।
७६ मिनेटमा फ्रेण्ड्सका एन्थोनी पउलले दोस्रो पहेँलो कार्ड पाउदै मैदान छाड्न बाध्य भए। त्यसअघि १५ मिनेटअघि उनले पहिलो पहेँलो कार्ड पाएका थिए।

फ्रेण्ड्स १० खेलाडीमा सीमित बनेपछि सातदोबाटोले खेललाई नियन्त्रणमा लिएको थियो।
तर पाएको अवसर भने सदुपयोग गर्न सकेन। लिगमा डेब्यू गरेको सातदोबाटोले पहिलो खेलमा एक अंक भने जोड्न सफल भएको छ।

आजदेखि सुरु भएको लिगको सुरुवाती दुई चरणका सम्पूर्ण खेलहरू दशरथ रङ्गशालामा हुनेछन्।
लिगमा विभिन्न १४ टोलीले प्रतिस्पर्धा गर्नेछन्। त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, सङ्कटा फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब र हिमालयन शेर्पा फुटबल क्लब रहेका छन्।
त्यसैगरी सातदोबाटो फुटबल क्लब, मनाङ मस्र्याङ्दी फुटबल क्लब, थ्रीस्टार फुटबल क्लब, एनआरटी फुटबल क्लब, फ्रेन्ड्स फुटबल क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब र बिग्रेड ब्वाइज फुटबल क्लब सहभागी छन्।
खेलका लागि साधारणतर्फ टिकट दर रु १०० र भीआइपीतर्फ रु ५०० मूल्य निर्धारण गरिएको छ।
यसपटक अन्तिम स्थानमा रहने दुई टोली रेलिगेसनमा पर्नेछन्।
अघिल्लो सिजनको उपाधि भने मछिन्द्र क्लबले जितेको थियो। लिग विजेता टोलीले रु ७५ लाख तथा उपविजेताले रु ५० लाख पाउनेछ।