सहिद स्मारक ए डिभिजन लिग २०७८ नसकिँदै यो सिजनको एएफसी कप खेल्ने टिमको टुंगो लाग्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरका अनुसार एएफसी कपका लागि टिम दर्ता गर्ने मितिसम्ममा लिगको शीर्ष स्थानमा रहने टिमलाई यो सिजनको एएफसी कपमा सहभागी गराइनेछ।
उनले लिग फागुन अन्तिममा सकिने भएको हुँदा त्यसअघि एएफसी कपका लागि टिमको नाम दिनु पर्ने बताए।
सामान्य अवस्थामा लिगको विजेताले एएफसी कपमा भाग लिन पाउने व्यवस्था छ।
यो सिजनको लिग मङ्सिर ३ गतेदेखि सुरू हुँदैछ।
प्रतियोगिता अवलोकनका लागि साधारणतर्फ प्रति व्यक्ति रु १०० तथा भीआइपीतर्फ रु ५०० टिकट मूल्य निर्धारण गरिएको छ।
एन्फाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा महासचिव तुलाधरले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।
लिगको उद्घाटन खेल आगामी मङ्सिर ३ गते नव प्रवेशी सातदोबाटो युवा क्लब र फ्रेन्ड्स क्लबबीच हुनेछ।
महासचिव तुलाधरले दर्शकको उपस्थितिलाई ध्यानमा राख्दै फ्लड लाइटमा पनि खेल खेलाइने जानकारी दिए।
लिगमा शुक्रबार, शनिबार, आइतबार र सोमबार गरी चार दिन खेल हुनेछ। साँझको खेल ४:३० मा सुरू हुनेछ।
पहिलो चरणका खेलहरू शुक्रबार र शनिबार दुवै दिनका खेल दशरथ रंगशलामा तथा आइतबार र सोमबार एन्फा कम्प्लेक्समा हुनेछ। त्यसपछिका खेलको तालिका भने केही खेल पछिमात्र निर्धारण गर्ने एन्फाको तयारी छ।
यस्तै लिग सुरु हुनुअघि कोभिड नेगेटिभको रिपोर्ट बुझाएका खेलाडीलाई प्रतियोगिताका दौरान कोरोना संक्रमण भए क्लब र परिवारलाई बोझ नदिने भन्दै त्यसको उपचारको जिम्मा एन्फाले लिनेछ।
लिग निर्देशक सञ्जीव मिश्रले सामूहिकरुपमा क्लब राजी भए केही खेल पोखरामा पनि गर्ने तयारी भइरहेको बताए।
लिगलाई उपत्यकाबाहिर लाने योजना स्वरूप मनाङले प्रस्ताव गरेको मैदानमा खेल खेलाउने या लिगका दुई चरणका खेलहरू पोखरामा खेलाउने तयारी भइरहेको उनको भनाइ छ।
लिगमा १४ टोलीको सहभागिता रहने छ। त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ क्लब, मछिन्द्र क्लब, सङ्कटा क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, सातदोबाटो क्लब, मनाङ मस्र्याङ्दी क्लब, थ्रि स्टार क्लब, एनआरटी क्लब, फ्रेन्डस क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब र बिग्रेड ब्वाइज फुटबल क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
अन्तिम स्थानमा रहने दुई टोली रेलिगेसनमा पर्नेछन्। लिग विजेताले रु ७५ लाख, उपविजेताले रु ५० लाख र तेस्रो हुने टिमले २५ लाख पुरस्कार प्राप्त गर्नेछ।
लिग सञ्चालनका लागि एन्फाको बजेट करिब ६ करोड ५० लाख रहेको र त्योमध्ये १ करोड ५० हाराहारीमा कतार एयरवेजले बेहोर्ने छ।