स्टेभिन जेरार्ड इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाको प्रशिक्षक नियुक्त भएका छन्। जेरार्ड र भिल्लाबीच ३ वर्ष ६ महिनाका लागि सम्झौता भएको छ। यसअघि जेरार्ड रेन्जर्सको प्रशिक्षक थिए।
लिभरपुलका पूर्वकप्तान ४१ वर्षीय जेरार्डले रेन्जर्सलाई स्कटिस प्रिमियरसिपको उपाधि जिताएका थिए। रेन्जर्सले १० वर्षमा पहिलो उपाधि जितेको थियो।
जेरार्डले अब भिल्लामा डिन स्मिथको स्थान लिनेछन्। गत आइतबार भिल्लाले स्मिथलाई बर्खास्त गरेको थियो। लगातार पाँच खेलमा पराजित भएपछि उनी बर्खास्तगीमा परेका थिए।
भिल्ला हाल प्रिमियर लिगको १६औं स्थानमा छ। रेलिगेशन जोनभन्दा २ अंकले मात्र अघि रहेको भिल्लाको प्रशिक्षक नियुक्त भएपछि जेरार्डले धनि इतिहास भएको क्लबको प्रशिक्षक नियुक्त हुन पाउँदा गर्व लागेको बताएका छन्।
जेरार्डले लिभरपुलका लागि ७१० खेल खेलका थिए। लिभरपुलबाट नौ उपाधि जितेका उनले सन् २०१५ मा एक सिजन अमेरिकी क्लब एलए ग्लेक्सीबाट खेलेका थिए। २०१६ मा उनले संन्यास लिएका थिए।
सन् २०१७-१८ को सिजनमा उनले लिभरपुलको यू-१८ टिमलाई प्रशिक्षण दिएका थिए।
इंग्लिस फुटबल टिमबाट ११४ अन्तर्राष्ट्रिय खेल खेलेका उनले २१ अन्तर्राष्ट्रिय गोल गरेका थिए।