अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस पटकको सहिद स्मारक ए डिभिजन लिग चार मैदानमा खेलाउने तयारी गरेको छ।
जस अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबको घरेलु मैदानको रूपमा पोखरा रंगशाला हुने प्रस्ताव गरिएको छ।
ए डिभिजन लिग कात्तिक २९ गतेदेखि सुरू हुँदैछ।
अघिल्लो संस्करण दुई मैदानमा आयोजना भएको लिग यसपटक भने चार रंगशालामा हुन लागेको हो।
पहिलो चरणमा त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र एन्फा टेक्निकल सेन्टर सातदोबाटोमा खेल हुँदैछन्।
अन्य चरणका खेलका लागि भने एन्फाले च्यासल मैदान र मनाङले घरेलु मैदानको रुपमा प्रस्ताव गरेको पोखरा रंगशाला हुनेछ। सोही अनुसार मनाङले पोखरा रंगशालामा तयारी पनि गर्दै आएको छ।
पोखरा रंगशालालाई प्रयोग गर्नका लागि एन्फासँग छलफल भइरहेको मनाङका अध्यक्ष विजय घले बताए।
कोरोना महामारीले निर्धारित मिति भन्दा केही महिना पछि धकेलिएको लिगमा पोखरा रंगशालाका अलावा च्यासल मैदान पनि आयोजना गर्ने योजना एन्फासँग छ।
लिगको उद्घाटन खदेल यसै सिजन बढुवा भएको सातादोबाटो युथ क्लबले फ्रेन्ड्सँग प्रतिस्पर्धा गर्दै छ। उद्घाटन खेल ‘फ्लड लाईट’ मा खेलाउने एन्फाको तयारी छ। सुरुवाती दुई चरणका खेलमध्ये आधा खेल दशरथ रंगशालामा हुनेछन्।
पोखरा रंगशालालाई मनाङले घरेलु मैदानको रुपमा प्रयोग गर्न यस अघि नै स्वीकृती पाइसकेको छ। त्यसैले मनाङले काठमाडौंदेखि क्लबहरुलाई पोखरासम्म लैजाने र खेलाएर काठमाण्डौं पठाउने प्रबन्धका लागि एन्फासँग छलफल भइरहेको बताएको छ।
फागुन १४ गते सम्म सञ्चालन हुने लिगमा १४ टिमले सहभागिता जनाउँदै छन्। लिगबाट दुई टोली रेलिगेशनमा घटुवा हुनेछन्। १३ चरणका खेल हुने लिगमा कुल ९१ खेल हुनेछन्।