स्पेनिस ला लिगामा बार्सिलोना र एथलेटिक बिल्बाओले बराबरी खेलेका छन्। शनिबार राति भएको खेलमा १–१ गोलको बराबरीमा सकिएको हो।
बिल्बाओको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। बिल्बाओका लागि इनिगो मार्टिनेजले गोल गरे। बार्सिलोनाका मेम्फिस डिपाएले बराबरी गोल फर्काएका थिए ।
खेलमा सुरुवाती अग्रता घरेलु टोलीले लिएको थियो। ५०औं मिनेटमा इनिगोले इकर मुनिएनको कर्नरबाट प्राप्त पासमा हेडगोल गर्दै बिल्बाओलाई अग्रता दिलाए।
बार्सिलोनाले ७५औं मिनेटमा बराबरी गोल फर्कायो।
मेम्फिस डिपाएले सर्जी रोबर्टाेको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। बार्सिलोनाका लागि डिपाएको यो डेब्यु गोल हो। २७ बर्षीय डिपाय यसै सिजन फ्रेन्च क्लब लियोनबाट बार्सिलोना आएका हुन्।
बराबरीसँगै दुई खेलबाट चार अंक बनाएको बार्सिलोना शीर्ष स्थानमा छ। बार्सिलोनाले पहिलो खेलमा रियलल सोसिडाडलाई ४–२ गोलले हराएको थियो। लगातार दोस्रो बराबरी खेलेको बिल्बाओ दुई अंक जोड्दै नवौं स्थानमा छ।
ला लिगा अन्तर्गत शनिबार राति नै भएको अर्को खेलमा मालोर्काले १० खेलाडीमा सिमिति डिर्पोटिभो अलाभेसलाई १–० गोलले हरायो।
अन्य खेलमा भ्यालेन्सिया र ग्रानाडाले १–१ तथा भिल्लारियल र स्पान्योलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
लिगअन्तर्गत आइतबार राति साविक विजेता एट्लेटिको म्यड्रिड र इल्चे, रियल म्यड्रिड र लिभान्ते तथा रियल सोसिडाड र रायो भालेकानोबीच प्रतिस्पर्धा हुनेछ।