भारतीय डिफेन्डर सन्देश झिंगनले युरोपियन फुटबल क्लबबाट व्यवसायिक खेल खेल्ने भएका छन्।
२८ वर्षीय सन्देश क्रोएसियाको पहिलो डिभिजनको लिग खेल्ने क्लब एचएनके सिबेनिकमा आबद्ध भएका हुन्।
उनी इन्डियन सुपर लिग (आइएसएल) क्लब मोहन बगानबाट सिजन २०२१/२२ का लागि क्रोएसियन क्लबमा आबद्ध भएका हुन्। सन् २०१५ मा भारतीय टिममा डेब्यू गरेका उनले राष्ट्रिय टिमबाट ४० खेलमा ४ गोल गरेका छन्।
उनी सन् २०१५ पछि विदेशमा खेल्ने पहिलो भारतीय खेलाडी हुन्। पछिल्लो पटक भारतका रोमेओ फर्नान्डेजले सन् २०१५ मा ब्राजिलियन क्लबबाट खेलेका थिए।
त्यसअघि गुरपितसिंह सिन्धुले नर्वेको क्लबबाट सन् २०१४ मा खेलेका थिए।
सुनील क्षेत्रीले सन् २०१२ मा पोर्चुगलको दोस्रो डिभिजनको क्लब स्पोर्टिङ सिपीको दोस्रो टिम र सन् २०१० मा अमेरिकाको कान्सास सिटीबाट खेलेका थिए।
त्यसअघि भारतका भाइचुङ भुटिया र मोहमद सलिमले पनि विदेशी क्लबबाट खेलेका थिए। सलिमले सन् १९३६ मा स्कटल्यान्डको सेल्टिकबाट दुई खेल खेलेका थिए।
भुटियाले १९९९ मा इंग्ल्यान्डको तेस्रो डिभिजनको क्लब बुरी, सन् २००३ मा मलेसियाको शीर्ष डिभिजनको पेरक र २००५ मा मलेसियाकै दोस्रो डिभिजनको सेलङगरबाट खेलेका थिए।