नेपाली राष्ट्रिय फुटबल टिम भारतसँग मैत्रीपूर्ण खेलका लागि अहिले पोखरामा तयारी गरिरहेको छ। दुई टिमबीच भदौ तेस्रो साता काठमाडौंको दशरथ रंगशालामा दुई खेल (भदौ १७ र २० गते) हुने तय छ।
पोखरामा तयारी गरिरहेको नेपालले सोमबार दोस्रो चरणमा २८ खेलाडी छनोट गरेको थियो। टिमबाट १० खेलाडी बाहिरिएका थिए।
बन्द प्रशिक्षणबाट भरत खवास, जर्जप्रिन्स कार्की, रजिन धिमाल, विशाल सुनार, रन्दीप पौडेल, राजीव लोप्चन, सञ्जोक राई, त्रिदेव गुरुङ, सेसेहाङ आङदम्बे र विक्रम लामा बाहिरिएका थिए।
नेपालले भारतसँग मैत्रीपूर्ण खेलसँगै अक्टोबरमा हुने साफ च्याम्पियनसिपको पनि तयारी गरिरहेको हो।
भारतसँगको मैत्रीपूर्ण खेललाई नेपालले महत्वका साथ हेरेको छ। किनभने भारत साफको पावर हाउस हो। भारतले १३ संस्करणमध्ये सात पटक उपाधि जितेको छ। नेपाल भने अहिलेसम्म फाइनलम समेत पुग्न सकेको छैन।
भारतले पनि नेपालसँगको मैत्रीपूर्ण खेलका लगि अहिले कोलकतामा प्रशिक्षण गरिरहेको छ।
प्रशिक्षक इगोर स्टिमाकको नेतृत्वमा कोलकतामा १५ दिन अभ्यास गरेपछि भारतीय टिम नेपाल आउनेछ।
कोलकतामा अभ्यासका क्रममा भारतीय टिमले आइएफए ११ (इन्डियन फुटबल एसोसिएसन) सँग मैत्रीपूर्ण खेल खेलेको छ। सो खेलमा भारतीय टिम १-० गोलले विजयी भयो।
नेपाल र भारतबीच अहिलेसम्म १९ खेल भएको छ। ती १९ मध्ये भारतले १३ खेलमा जित हात पारेको छ। नेपाल केवल २ खेलमा मात्र विजयी भएको छ। ४ खेल भने बराबरीमा सकिएका छन्।
भारतले नेपालको पोस्टमा ३३ गोल गरेको छ। नेपालले भने ९ गोल मात्र गर्न सकेको छ।
पछिल्लो पटक नेपाल र भारतबीच जुन ६, २०१७ मा प्रतिस्पर्धा भएको थियो। मुम्बईमा भएको सो खेलमा भारत २-० गोलले विजयी भएको छ।
दुई टिमबीच नेपाली मैदानमा २०१५ मा प्रतिर्स्पर्धा भएको थियो। विश्वकप छनोटको दोस्रो लेगको उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो।
सन् २०१३ मा नेपालमा भएको साफ च्याम्पियनसिपको समूह चरणमा नेपाल र भारतबीच प्रतस्पर्धा भएको थियो। सो खेलमा नेपालले २-१ को रोमाञ्चम जित हात पारेको थियो। उक्त खेलमा नेपालका लागि अनिल गुरुङ र जुमानु राईले गोल गरेका थिए।
दुई देशको प्रतिस्पर्धामा सुनील क्षेत्री बढी गोल गर्ने खेलाडी हुन्। उनले नेपालविरुद्ध आठ खेल खेल्दै पाँच गोल गरेका छन्।
नेपाल भर्सेस भारत
२०-१२-१९८५ भारत ०-० नेपाल साफ गेम्स
२१-१२-१९८५ भारत २-० नेपाल साफ गेम्स
३०-११-१९८७ भारत १-० नेपाल साफ गेम्स
२६-१२०-१९८९ भारत २-१ नेपाल साफ गेम्स
२१-७-१९९३ भारत १-० नेपाल साफ च्याम्पियनसिप
१८-१२-१९९३ भारत २-२ नेपाल साफ गेम्स
२२-१२-१९९३ नेपाल २-२ (४-३) भारत साफ गेम्स
५-१२-१९९८ नेपाल ०-१ भारत एसियन गेम्स
३००-९-१९९९ नेपाल ०-४ भारत साफ गेम्स
८-१२-२००५ भारत २–१ नेपाल साफ च्याम्पियनसिप
३-६-२००८ भारत ४–० नेपाल साफ च्याम्पियनसिप
८-१२-२००९ भारत १– ० नेपाल साफ च्याम्पियनसिप
२८-८-२०१२ भारत ० – ० नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण
५-९-२०१३ नेपाल २ – १ भारत साफ च्याम्पियनसिप
१९-११-२०१३ भारत २ – ० नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण
१२-३-२०१५ भारत २ – ० नेपाल विश्वकप छनोट
१७-३-२०१५ भारत ० – ० नेपाल विश्वकप छनोट
२७-१२-२०१५ भारत ४-१ नेपाल साफ च्याम्पियनसिप
६-६-२०१७ भारत २-० नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण