युरो २०२० को सेमिफाइनलमा मंगलबार राति स्पेन र इटालीबीच प्रतिस्पर्धा हुँदैछ। दुई टिमबीच युरो कपमा लगातार चौथो पटक प्रतिस्पर्धा हुन लागेको हो।
-युरो २०१६ मा स्पेन र इटालीबीच अन्तिम १६ मा प्रतिस्पर्धा भएको थियो। खेलमा इटालीले २-० को जित हात पारेको थियो। त्यसअघि २०१२ को फाइनलमा स्पेनले इटालीलाई हराउँदै उपाधि जितेको थियो। सन् २००८ को युरो कपमा इटाली र स्पेनबीच क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्दै स्पेन विजयी भएको थियो।
-इटालीले युरो २०२० को क्वार्टरफाइनलमा बेल्जियमलाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको थियो। स्पेनले स्विट्जरल्यान्डमाथि पेनाल्टी सुटआउटमा जित हात पारेको थियो।
- इटाली र स्पेनबीचको विजेताले उपाधिका लागि इंग्ल्यान्ड वा डेनमार्क मध्ये एक टिमसँग जुलाई ११ मा प्रतिस्पर्धा गर्नेछ।
-फिफा २०१८ को छनोटमा इटाली र स्पेनबीच दुई पटक प्रतिस्पर्धा भएको थियो। टुरिनमा भएको पहिलो खेल १-१ गोलको बराबरीमा सकिएको थियो। दोस्रो खेलमा स्पेनले ३-० को जित निकालेको थियो। स्पेन समूह विजेता बन्दै विश्वकपमा छनोट हुँदा इटाली दोस्रो हुँदै प्लेअफमा पुगेको थियो। प्लेअफमा स्विडेनसँग पराजित हुँदा इटाली सन् १९५८ पछि पहिलो पटक विश्वकपमा छनोट हुन असफल भएको थियो।
- इटाली र स्पेनबीच अहिलेसम्म ३७ पटक प्रतिस्पर्धा भएको छ। जसमा दुवै टिमले समान ११-११ पटक जित हात पारेका छन्। १५ खेल भने बराबरीमा सकिएका छन्।
-दुई टिमबीच आगामी ६ अक्टोबरमा युइएफए नेसन्स लिगको सेमाफाइनलमा प्रतिस्पर्धा हुँदैछ।
-इटालीले अहिलेसम्म चार पटक सेमिफाइनलमा प्रतिस्पर्धा गरेको छ। जसमा तीन पटक जित निकाल्दै फाइनल पुगेको छ भने एक पटक पराजित भएको छ। सन् १९६८ को सेमिफाइनलमा इटाली र तत्कालिन सोभियत युनियनबीच खेल भएको थियो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि 'टस'मा इटाली विजयी भएको थियो। सन् १९८८ को सेमिफाइनलमा भने इटालीलाई सोभियत युनियनले हराएको थियो। २००० को सेमिफाइनलमा नेदरल्यान्ड्सलाई ३-१ गोलले पराजित गर्दा २०१२ को सेमिफाइनलमा जर्मनीलाई पराजित गरेको थियो। तीन पटक फाइनल पुगेको इटाली सन् १९६८ मा मात्र च्याम्पियन बन्न सकेको थियो।
-स्पेन पनि चारै पटक सेमिफाइनलमा विजयी भएको छ। चारै सेमिफाइनलमा स्पेन विजयी भएको छ। स्पेनले सन् १९६४ को सेमिफाइनलमा हंगेरी, सन् १९८४ को सेमिफाइनलमा डेनमार्क, सन् २००८ को सेमिफाइनलमा रसिया र २०१२ को सेमिफाइनलमा पोर्चुगललाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो। स्पेनले १९६४, २००८ र २०१२ को फाइनलमा पुग्दै उपाधि जितेको थियो।