कप्तान लिओनल मेसीले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेको खेलमा अर्जेन्टिनाले इक्वेइडरलाई ३-० गोलले पराजित गर्यो।
शनिबार हात पारेको जितसँगै अर्जेन्टिना सेमिफाइनल पुग्यो।
टिमका लागि तेस्रो गोल गर्नुअघि भएका दुई गोलका लागि मेसीले नै पास दिएका थिए।
खेलपछि अर्जेन्टिनाका खेलाडीले मेसीको प्रदर्शनको तारिफ गरेका छन्। मेसीको प्रभावले अर्जेन्टिनी टिम उत्कृष्ट बन्दै गएको उनीहरूको भनाइ छ।
मेसीले पहिलो गोलका लगि रोद्रिगो डे पाउललाई पास उपलब्ध गराएका थिए।
खेलको म्याच अफ दि म्याच भएका पाउलले मेसीको प्रभावका कारण टिममा आत्मविश्वास बढिरहेको बताए।
अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि बुधबार कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ। सो खेलमा पनि मेसीबाट अर्जेन्टिनाले उत्कृष्ट खेलको अपेक्षा गरेको छ।
जारी प्रतियोगितामा मेसीले चार गोल र चार एसिस्ट गरिसकेका छन्।
'मेसीले दिनदिनै हामीलाई चकित पारिरहेका छन्, उनले झन् बलियो खेल देखाएका छन्। उनले हामी सबैलाई प्रभावित गरिरहेका छन्,' अर्जेन्टिनी फरवार्ड निको गोन्जालेज भन्छन्, 'उनी हामीलाई आत्मविश्वास र आनन्द दिन्छन्। हामीले यो यात्रा जारी राख्नुपर्छ र रमाउनुपर्छ।'
अर्का फरवार्ड लाउटरो मार्टिनेज पनि मेसीको नेतृत्वमा अघि बढ्ने बताउँछन्।
'हामी सबै मेसीको नेतृत्वलाई पछ्याउँछौं। आज हामीले फेरि देख्यौ कि मेसीले खेलमा फरकता ल्याउँछन्। हामी सबै उनीसँगै अघि बढ्नेछौं,' मार्टिनेजले भने।
उत्कृष्ट फिकिङमा गोल गरेका मेसीले व्यक्तिगत प्रदर्शन आफ्नो प्राथमिकतामा नपर्ने बताए।
'व्यक्तिगत प्रदर्शन गौण हुन्, हामी यहाँ केहि अरूको लागि आएका छौं,' मेसीले भने, 'म टिमलाई उनीहरूले गरेको कामका लागि बधाइ दिन चाहन्छु।'
कोपा अमेरिकाको अर्को सेमिफाइनलमा आयोजक तथा साविक विजेता ब्राजिल र पेरूबीच खेल हुनेछ।
पछिल्ला खेलको विश्लेषण गर्ने हो भने कोपाको फाइनलमा चिरप्रतिद्वन्द्वी ब्राजिल र अर्जेन्टिनाबीच भिडन्त हुने देखिएको छ।
मेसी र नेइमारले यहि लक्ष्य राख्दै आफ्नो टिमका लागि प्रभावशाली खेल देखाइरहेका छन्।