युरो २०२० अन्तर्गत शुक्रबारबाट क्वार्टरफाइनलका खेल हुँदैछन्।
शुक्रबार हुने पहिलो खेलमा स्पेन र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। खेल रसियाको सेन्ट पिटर्सवर्गमा राति ९:४५ बजे सुरु हुनेछ।
इतिहास केलाउदा स्विट्जरल्यान्डको तुलनामा स्पेन बलियो छ। दुई देशबीच अहिलेसम्म भएको २२ भिडन्तमा स्विट्जरल्यान्डले एक पटक मात्र जित हात पारेको छ।
सन् २०१० को विश्वकपको समूह चरणमा स्विट्जरल्यान्डले स्पेनलाई पराजित गरेको थियो। पहिलो खेलमा पराजित भए पनि स्पेनले विश्वकपको उपाधि जित्यो।
स्पेनले क्रोएसियामाथि ५-३ को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो। निर्धारित समयको खेल ३-३ को बराबरीमा सकिएपछि स्पेनले अतिरिक्त समयमा २ गोल गरेको थियो।
स्विट्जरल्यान्डले भने सन् २०१८ को विश्वकप विजेता फ्रान्समाथि पेनाल्टी सुटआउटमा ५-४ को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको थियो।
स्विट्जरल्यान्डका गोलकिपर यान सोमरले २०२० नोभेम्बर १४ मा भएको नेशन्स लिगको खेलमा स्पेनका सर्जियो रामोशका दुई पेनाल्टी सेभ गरेका थिए। सो खेल १-१ गोलको बराबरीमा सकिएको थियो।
आजै राति हुने दोस्रो खेलमा बेल्जियम र इटालीबीच प्रतिस्पर्धा हुनेछ। म्युनिखमा हुने खेल राति १२:४५ मा सुरू हुनेछ।
बेल्जिमयले साविक विजेता पोर्चुगललाई पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको थियो। कीर्तिमानी जित हात पारेको इटालीले भने अस्ट्रियालाई २-१ ले हराएको थियो। खेलमा अतिरिक्त समयमा तीन गोल भएको थियो।
इटाली ३१ खेलमा अपराजित छ भने लगातार १२ खेलमा जित हात पारेको छ। बेल्जियम पनि १३ खेलमा अपराजित छ।
बेल्जिमयलाई मुख्य खेलाडी केभिन डे बुएन र इडिन हजार्डको फिटनेसको चिन्ता छ।