महिला राष्ट्रिय लिगमा नेपाल पुलिस क्लब पराजित भएको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको दिनको दोस्रो खेलमा पुलिसलाई विराटनगर महानगरपालिकाले १-० गोलले पराजित गरेको हो।
विराटनगरको जितमा पार्वती घलेले पहिलो हाफमा गरेको गोल निर्णायक बन्यो। उनले खेलको नवौं मिनेटमा गोल गरेकी थिइन्।
जितसँगै विराटनगर अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पुलिसलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको विराटनगरले ६ खेलबाट १० अंक जोडेको छ।
चौथो स्थानमा झरेको पुलिसको ६ खेलबाट ८ अंक छ।
यसअघि दिनको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले चौदण्डीगढी नगरपालिका उदयपुरलाई १२-० गोलले पराजित गर्यो।
अंक तालिकाको दोस्रो स्थानमा रहेको आर्मीको ६ खेलबाट १३ अंक भएको छ।
शीर्ष स्थानको एपिएफको आर्मीको भन्दा ५ अंक बढी १८ अंक छ।
अंक तालिकाको पुछारमा रहेको चौदण्डीगढीले ६ वटै खेलमा हार बेहोरेको छ। उसले ६ खेलमा ६३ गोल खाएको छ भने १ गोल मात्र गर्न सकेको छ।