राष्ट्रिय फुटबल टिमका मिडफिल्डर तथा थ्रीस्टार क्लबका कप्तान विक्रम लामाको दाहिने खुट्टाको शल्यक्रिया गरिएको छ।
उनको कतारको राजधानी दोहामा शल्यक्रिया गरिएको हो।
उनको शल्यक्रिया गर्न ९० मिनेट लागेको थियो। अहिले उनको स्वास्थ्य स्थिति सामान्य रहेको र उनी चिकित्शकको निगरानीमा रहेको थ्रीस्टार क्लबले जनाएको छ।
खुट्टाको चोटका कारण नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण गुमाएका फरवार्ड विमल घर्तिमगर र मिडफिल्डर लामा उपचारका लागि दुई साताअघि कतार गएका थिए।
अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा दुवै खेलाडी उपचारका लागि कतार गएका थिए।
एक वर्षपछि राष्ट्रिय टिममा फर्किएका विमल गत महिना अभ्यासका क्रममा घाइते भएका थिए। यस्तै विक्रमको दुई वर्षअघि लागेको चोट बल्झिएको थियो।
एन्फाले दुवै खेलाडीको उपचारमा सहयोग गर्न गरेको आग्रहलाई कतार फुटबल एसोसिएसनले स्विकार गरेको थियो।
लामा र घर्तिमगर दुवै नेपाली राष्ट्रिय फुटबल टिमका महत्वपूर्ण सदस्यको रुपमा रहँदै आएका थिए।
नेपालमा हुने विश्वकप छनोटका खेल हुँदा दुवैले ती महत्वपूर्ण खेल गुमाउने भएका छन्।