सशस्त्र प्रहरी बलको एपिएफ क्लबले महिला राष्ट्रिय लिगमा गोलको वर्षा गरेको छ।
सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपिएफले चौदण्डीगढी नगरपालिका उदयपुरमाथि २२-० को फराकिलो अन्तरको जित हात पारेको हो।
लगातार छैटौं खेलमा जित हात पारेको एपिएफका लागि उत्कृष्ट लयमा देखिएकी सावित्रा भण्डारी 'साम्बा' एक्लैले १२ गोल गरिन्।
साम्बाले पहिलो हाफमा पाँच गोल गरिन् भने दोस्रो हाफमा ७ गोल गरिन्।
उनले खेलको ५, ३२, ३३, ३४, ३८, ४७, ५५, ६२, ६३, ७२, ७९ र दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरेकी थिइन्।
साम्बाले यसअघिमा चार खेलमा तीन ह्याट्रिक गरेकी थिइन्।

एपिएफका लागि अनु लामाले ५ गोल गरिन् भने अनिता बस्नेतले ह्याट्रिक पूरा गरिन्।
सरु लिम्बु र रेनुका नगरकोटीले थप १-१ गोल गरे।
लिगको शीर्ष स्थानमा रहेको एपिएफले लगातार ६ जित निकाल्दै १८ अंक जोडेको छ।
अंकबिहीन चौदण्डीगढी अंक तालिकाको पुछारमा छ।
जारी प्रतियोगितामा एपिएफले अहिलेसम्म ६ खेलमा ४३ गोल गरिसकेको छ भने कुनै पनि गोल खाएको छैन।


