महिला राष्ट्रिय फुटबल लिगमा नेपाल पुलिस क्लब अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
आइतबार भएको खेलमा चन्द्रपुर नगरपालिका रौतहटलाई ३-१ गोलले पराजित गर्दै पुलिस दोस्रो स्थानमा उक्लिएको हो।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुलिसले निर्मला विकले २७ मिनेटमा गरेको गोलबाट अग्रता लियो।
चन्द्रपुरकी साबिता रानामगरले ३९ मिनेटमा बराबरी गोल फर्काइन्।
पुलिसकी निरु थापाले ५० मिनेटमा गोल गर्दै टिमलाई दोस्रो पटक अग्रता दिलाइन्।
दोस्रो हाफको इन्जुरी समयमा पुलिसका लागि अनुस्का शेर्पाले तेस्रो गोल गरेकी थिइन्।
अंक तालिकामा नेपाल एपिएफ क्लब लगातार ५ खेलमा जित निकाल्दै १५ अंक जोडेर शीर्ष स्थानमा छ।
दोस्रो स्थानमा उक्लिएको नेपाल पुलिस क्लबले ५ खेलबाट ८ अंक जोडेको छ। त्रिभुवन आर्मी क्लब ४ खेलबाट ७ अंकसहित तेस्रो स्थानमा छ।
चौथो स्थानको विराटनगर महानगरपालिकाले ४ खेलबाट ७ अंक नै जोडेको छ।
वालिङ ५ खेलबाट ५ अंक जोडेर पाँचौ स्थानमा छ भने छैटौ स्थानको चन्द्रपुरले ३ अंक जोडेको छ।
पुछारको चौदण्डीगणी नगरपालिकाले भने कुनै अंक जोडेको छैन।