सावित्रा भण्डारी 'साम्बा' ले ह्याट्रिक गरेको खेलमा नेपाल एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको दोस्रो खेलमा एपिएफले पुलिसलाई ३-० गोलले पराजित गरेको हो।
लगातार चार खेलमा जित निकालेको एपिएफ १२ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ।
दोस्रो स्थानको पुलिसको ५ अंक छ। जसका कारण एपिएफले अंक तालिकामा ७ अंकको अग्रता लिएको छ।
साम्बाले खेलको ३२ मिनेटमा पहिलो गोल गरिन्। उनले ५६ मिनेटमा टिमको अग्रता दोब्बर पारिन्।
८४ मिनेटमा साम्बाले ह्याट्रिक पूरा गरिन्। जारी प्रतियोगितामा साम्बाको दोस्रो ह्याट्रिक हो। यसअघि साम्बाले चन्द्रपुर नगरपालिकाविरुद्ध ह्याट्रिक गरेकी थिइन्।
पुलिसले खेलमा गोल गर्ने कुनै पनि अवसर सिर्जना गर्न सकेन।
जारी लिगमा एपिएफले १७ गोल गरेको छ भने कुनै पनि गोल खाएको छैन।
हारपछि पुलिसका संजिव जोशीले रक्षापंक्तिका खेलाडी घाइते भएका कारण समस्या भएको बताए।
'हाम्री मुख्य डिफेन्डर पूजा राना अघिल्लो खेलमा घाइते भएकी थिइन्। त्यसैले आजको खेलमा हामीलाई असर गर्यो,' जोशीले भने।
एपिएफकी प्रशिक्षक भगवती थापाले विभागीय टिमलाई पराजित गरे पनि उपाधि अझै टाढा रहेको बताइन्।