मोफसलकै सबैभन्दा पुरानो खेल तिलोत्तमा गोल्डकपको उद्घाटन खेलमा रुपन्देही ११ ले विजयी शुरुवात गरेको छ ।
रुपन्देही फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर बुटवलमा बिहीबारदेखि सुरु भएको तिलोत्तमा गोल्डकप २० औं संस्करण हो।
उद्घाटन खेलमा सुदूरपश्चिम ११ लाई दुई शुन्य गोल अन्तरले हराउँदै रूपन्देही ११ विजयी भएको हो। घरेलु मैदानमा भएको खेलमा रुपन्देही ११ का लागि दुवै गोल निशान लिम्बुले गरे।
खेलको ८ औं मिनेटमा डि बक्समा सुदूरपश्चिम ११ का राकेश हमालले रुपन्देही ११ का निशान लिम्बुलाई लडाएपछि रुपन्देही ११ ले पेनाल्टी पाएको थियो । पेनाल्टीलाई निशान लिम्बुले गोलमा परिणत गरी आफ्नो टिमको लागि खाता खोलेका थिए ।
एक गोलपछि आक्रमक प्रस्तुत भएको सुदूरपश्चिम ११ ले केही अवसर पाए पनि गोल गर्नबाट चुक्यो । पहिलो हाफको खेल १ शुन्यमा सकिए पनि दोस्रोे हाफमा रुपन्देही ११ ले थप एक गोल गर्न सफल भयो ।
दोस्रो हाफको ४२ औं मिनेटमा रुपन्देही ११ का निशान लिम्बुले गोल गर्दै टिमलाई २ शुन्यको स्थितीमा पुर्याए । बांकी समयमा सुदूरपश्चिमले गोल गर्न सकेन र रुपन्देही ११ विजयी भयो । दुई गोल गरेका निशान लिम्बु प्रतियोगिताको म्यान अफ द म्याच घोषित भए ।
यसअघि रुपन्देही क्षेत्र १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद छविलाल विश्वकर्माले प्रतियोगिताको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले मोफसलकै पुरानो प्रतियोगिताले खेल र खेलाडिको विकास मात्र नगरी यस क्षेत्रको गरिमालाई समेत कायम राखेको बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवललाई खेलकुद हवको रुपमा विकास गर्न उपमहानगरपालिका लागि परेको बताए ।
प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ, डिफेन्डिङ च्याम्पियन सीएमजी संकटा, रुस्लान थ्रीस्टार, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी, फ्रेन्ड्स क्लब, आयोजक रूपन्देही ११ र सुदूरपश्चिम ११ रहेका छन् ।
विजेताले ७ लाख ७७ हजार ७ सय ७७ हजार र उपविजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयां पुरस्कार जित्ने छन् ।
सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पुरस्कार जित्दा विधागत पाँच उत्कृष्ट खेलाडीले जनही २२ हजार २ सय २२ रुपैयां पाउने छन । प्रतियोगिता सम्पन्न गर्न करिब ८३ लाख खर्च अनुमान गरिएको छ ।
तत्कालिन बुटवल नगरपञ्चायतले २०३३ सालदेखि संचालन गरेको तिलोत्तमा गोल्डकप पछिल्लो समय बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा जिल्ला फुटबल संघले संचालन गर्दै आएको छ ।
बुटवलको ऐतिहासिक तिलोत्तमा नदिको नामबाट नामाकरण गरिएको प्रतियोगिता हरेक वर्ष हुने भनिएपनि राजनीतिक अस्थीरता, आर्थिक अभाव, खेल र प्रतिबद्धताको अभावमा पटक–पटक रोकिदै आएको छ ।
प्रतियोगिता अन्तर्गत शुक्रवार कास्की ११ र फ्रेन्ड्स क्लबका बीच खेल हुनेछ ।