बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणअन्तर्गत हिजो भएको खेलमा युभेन्टससँग गोलरहित बराबरी खेलेको छ। बराबरी खेले पनि बार्साले अन्तिम १६ मा भने स्थान बनाएको छ।
युभेन्टसविरुद्ध उत्रदा लिओनल मेस्सीलाई बेञ्चमा राखिएको थियो। उनी ५६ औं मिनेटमा जेरार्ड डोलिफेउको स्थानमा मैदान प्रवेश गरेपनि टोलीलाई जिताउन सकेनन्।
पछिल्लो पटक गत सिजन च्याम्पियन्स लिगको क्वाटर फाइनलका पहिलो लेगमा युभेन्टससँग उसकै घरेलु मैदानमा खेल्दा बार्सिलोना ३–० ले पराजित भएको थियो। बराबरीपछि बार्सिलेनाको ११ अंक भएको छ र समूह ‘डी’को शीर्ष स्थानमा छ। ८ अंकका साथ दोस्रो स्थानमा रहेको युभेन्टसको भन्दा बार्सिलोनाको हेड टु हेड रेकर्ड पनि राम्रो छ।
त्यस्तै, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, बुधबार राति सम्पन्न खेलमा बसेलसँग पराजित भएको छ। जोसे माउरिन्होको टोलीलाई समूह ‘ए’ को खेलमा बासेलले १–० ले पराजित गर्न सफल भयो।
घरेलु टोली बसेलकाका लागि ८९ मिनेटमा मिचेल लाङले निर्णायक गोल गरेका थिए। खेल समाप्त भएपछि म्यानचेस्टर प्रशिक्षक माउरिन्होले आफ्नो टोलीले पहिलो हाफमै ५–६ गोलको अग्रता लिइसक्नुपर्ने तर त्यो नभए पनि आफूलाई खेलाडीप्रति कुनै गुनासो नभएको प्रतिक्रिया दिएका थिए।
यही समूहमा रहेको सिएसकेए मस्कोले बेनिफिकालाई २–१ गोलले पराजित गरेको छ। यो नतिजापछि समूहमा उपविजेता भएर मस्को र बसेलमध्ये कुन जाने त्यो ५ डिसेम्बरमा हुने अन्तिम खेलले बताउनेछ। दुवैको समान ९ अंक छ।