युइएफ्ए च्याम्पियन्स लिगमा क्रिष्टियानो रोनाल्डोको अर्को नयाँ रेकर्डसँगै साविक विजेता रियल मड्रिड अन्तिम १६ मा पुगेको छ।
मंगलबार राति भएको समूह ‘एच’को खेलमा रियल मड्रिडले एपेल निकोसियालाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्यो। रियलको जितमा दुई गोल गरेका रोनाल्डोको सन् २०१७ मा च्याम्पियन्स लिगमा गोल संख्या १८ पुगेको छ, जुन एउटा क्यालेण्डर इयरमा भएको सर्वाधिक धेरै गोल हो।
एपेल निकोसियाको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले चार गोल पहिलो हाफमा नै गरेको थियो। २३ औं मिनेटमा लुका मडरिकको गोलबाट अग्रता लिएको उसका लागि २३ औं मिनेटमा करिम बेन्जिमा र ४१ औं मिनेटमा नाचोले गोल गरे। पहिलो हाफको अतिरिक्त समयमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल मड्रिड ४–० को अग्रता लिन सफल भयो।
यसपछि दोस्रो हाफको सुरूमा नै रोनाल्डोले गोल गरे। ४९ औं मिनेटमा पहिलो गोल गरेका उनले पाँच मिनेटपछि अर्को गोल थपे।
अर्को, खेलमा बोरुसिया डर्टमुन्डलाई २–१ ले हराएको इंग्लिस क्लब टोटनह्याम समूह विजेता बन्न सफल भएको छ। इङ्लिस टोली टोटेनह्यामका लागि ह्यारी केन र सन ह्यसङ मिनले एकएक गोल गरेका थिए।