भारतीय टिममाथि गोल वर्षा गर्दै विभागीय टिम एपिएफ झापामा जारी सताक्षी गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
सताक्षी स्पोर्टिङ क्लबद्धारा आयोजित दोस्रो सताक्षी गोल्डकपको दोस्रो दिन विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लबले भारत मध्यप्रदेशको डायमण्ड अफ फुटबल एकेडेमीलाई शून्यका बिरुद्ध ४ गोल गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
जीतसँगै एपीएफले बाइ पाएको त्रिभुवन आर्मी क्लबसँग प्रतिष्पर्धा गर्नेछ ।
खेलको ३१औं मिनेटमा रूपबहादुर लामाले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए। नविन लामाको कर्नर प्रहारमा लामाले हेड मार्फत गोल गरेका थिए।
पहिलो हाफ १-० ले अगाडि रहेको एपिएफले दोस्रो हाफ आक्रमक खेल्यो। दोस्रो हाफको २४ औं मिनेटमा श्याम नेपालीले गोल गर्दै टीमको अग्रता दोब्बर बनाए। उनले डायमण्डका खेलाडी बीट भएको मौका पारी वान टु वान खेल्दै गोल गरेका थिए।
यस्तै खेलको ३२ औं मिनेटमा एपीएफका सब्सिच्यूट खेलाडी रञ्जन बिष्टले गोल गर्दै एपिएफलाई ३-०को अग्रता दिलाए। खेलको इन्जुरी समयमा एपीएफका नविन लामाले गोल गर्दै एपिएफको जित सुनिश्चित गरे। रञ्जन बिष्टको पासमा लामले गोल गरेका हुन्।
डायमण्डले उत्कृष्ट प्रदर्शन गर्दै गोल गर्ने केही राम्रा अवसरहरू गुमाएको थियो।
खेलको म्यान अफ द म्याच एपिएफका रुपबहादुर लामा भए । उनले नगद १० हजार रुपैंया पुरस्कार पाए। भोलि बिहिबारको खेल आयोजक सतासीधाम स्पोर्टिङ क्लबबिरुद्ध काठमाडौं चर्च ब्वाइज क्लबबीच हुने आयोजकले जनाएको छ।
आयोजकले भोलिको खेलमा बिमल घर्ती मगर, बिक्रम लामा, अनन्त तामाङलगायतलाई मैदानमा उतार्ने जनाइएको छ। यसअघि हिजो भएको उद्घाटन खेलमा झापा ११ ले पोखरा ११ लाई शून्यका बिरुद्ध ५ गोल गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।