काठमाडौं उपत्यकामा पहिलोपटक निजी स्तरको क्लबले ए डिभिजन फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
चन्दागिरी नगरपालिका नैकापस्थित ब्राइट युथ क्लबले आगामी मंगलबारदेखि मंसिर ५ गतेसम्म फुटबल प्रतियोगिता गर्न लागेको क्लबका उपाध्यक्ष कृष्ण बस्याल किसनले जानकारी दिए।
प्रतियोगिताको उद्घाटन खेलकुद मन्त्री राजन केसीले गर्ने कार्यक्रम छ ।
प्रतियोगितामा ७ वटा ए डिभिजन क्लबका साथै आयोजक ब्राइट युथ क्लबसहित ८ वटा टिमको सहभागिता रहने छ ।
नेपाल जनरल मार्केटिङको मुख्य प्रायोजनमा हुन लागेको उक्त प्रतियोगितामा विभिन्न शीर्षकमा गरेर ११ लाख ५१ हजार रुपैयाँभन्दा बढी पुरस्कार राशीको व्यवस्था छ।
क्लबका उपाध्यक्ष बस्यालका अनुसार प्रतियोगितामा नेपाल आर्मी, नेपाल पुलिस, एपिएफ, संकटा, हिमालयन शेर्पा, फ्रेन्डस्, जाउलाखेल युथ र आयोजक ब्राइट युथ क्लवको सहभागिता रहने छ ।
काठमाडौंको पहिलो पटक निजी स्तरको क्लबले ए डिभिजन फुटबल गरेर इतिहास रच्न लागेको आयोजक क्वलका अध्यक्ष रमेश बुढाथोकीले बताए। उनी फुटबलका पूर्वं राष्ट्रिय खेलाडी पनि हो ।
प्रतियोगितामा प्रथम हुनेले ५ लाख रुपैयाँ नगदसहित गोल्ड ट्रफी प्राप्त गर्ने छ । त्यस्तै, दोस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ नगदका साथ ट्रफी पाउने छ ।
प्रतियोगितामा बेस्ट प्लेयर र सर्वाधिक गोलकर्तालाई जनही ३० हजार रुपैयाँका दरले पुरस्कार दिइने क्लवका उपाध्यक्ष किसनले बताए। त्यस्तै, हरेक खेलमा म्यान अफ द म्याच बन्ने खेलाडीले ३ हजार रुपैयाँ पाउने छन् । हरेक म्याच खेल्ने क्लवलाई ३० हजार रुपैयाँ दिइने उनले बताए।