अर्जेन्टिना फुटबल टोलीका कप्तान लियोन मेसी आगामी वर्ष रूसमा हुने विश्वकपमा स्पेन र अर्जेन्टिना एकै समूहमा नपरोस् भन्ने चाहन्छन्। अर्को महिना विश्व कपको ड्र हुन लागेको सन्दर्भमा मेस्सीले यस्तो अभिव्यक्ती दिएका हुन्।
सन् २०१० को विश्व विजेता स्पेन अहिले फिफाको शीर्ष ५ वरियता भित्र अटाएको छैन। त्यसैले अब स्पेन सम्भवतः अर्जेन्टिना, ब्राजिल, जर्मनी वा फ्रान्स रहने कुनै एक समूहमा पर्ने सम्भावना बढी हुन्छ। मेसीको नजरमा विश्वकै कठीन प्रतिद्वन्द्री रहेको स्पेनलाई समूह चरणमै सामना गर्नु नपरोस् भन्ने चाहन्छन्।
‘यदि स्पेन हाम्रो समूहमा पर्यो भने त्यो हाम्रो लागि सबै भन्दा खराब ड्र हुनेछ’ सञ्चारकर्मीसँग कुरा गर्दै मेसीले भनेका छन, ‘उनीहरु साँच्चै बलियो प्रतिद्वन्द्वि हुन्। त्यसैले उनीहरु हामीसँग नपरून् भन्ने चाहन्छु।’ मेसीको नजरमा स्पेन, जर्मन, फ्रान्स र ब्राजिल सबैभन्दा बलिया प्रतिद्वन्द्वि हुन् र उनीहरुसँग व्यक्तिगत रुपमा क्षमतावान् खेलाडी रहेको पनि उनले दाबी गरे।
‘मलाई लाग्छ अहिलेको समयमा स्पेन, जर्मनी, फ्रान्स र ब्राजिल बलिया टोली हुन्, उनीहरुले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् र त्यहाँ व्यक्तिगत रुपमा पनि प्रतिभावान् खेलाडी छन्’ उनले भने, ‘मलाई हामी छनोट हुन्छौं भन्नेमा विश्वास थियो । तर मलाई लागेको थियो कि हामी इक्वेडरसँगको खेल अघि नै छनोट भइसक्ने छौँ ।’
अर्जेन्टिनाले छनोट चरणमा निकै संघर्ष गर्नु परेको थियो । छनोटको अन्तिम खेलको जितपछि मात्र अर्जेन्टिनाको विश्वकप यात्रा पक्का भएको थियो।