लगातार तेस्रो हार बेहोरेपछि नेपाल शनिबार एएफसी यु–१९ च्याम्पियन्ससिप छनोटबाट बाहिरिएको छ । अर्को वर्ष इन्डोनेसियामा आयोजना हुने एएफसी यु–१९ च्याम्पियनसिपको छनोटका लागि किर्गिस्तान पुगेको नेपाल आफ्नो समूह चरणका सबै खेलमा पराजित भएको हो।
समूह चरणको तेस्रो खेलमा शनिबार नेपाल युएईसँग १-० गोलले पराजित भयो। प्रतिस्पर्धाको अन्तिम समयमा नेपाललाई बराबरी गोल फर्काउने सुनौलो अवसर प्राप्त भएको थियो । तर, मिडफिल्डर अभिषेक रिजालले पेनाल्टी गोल गर्न नसक्दा नेपालले युएईलाई १–० को नतिजा सुम्पियो। अभिषेकको प्रहारलाई युएईका गोलरक्षकले सानदार बचाउ गरेका थिए ।
युएईका गोलरक्षकले वान भर्सेस वानको अवस्थामा नेपाली खेलाडीलाई लडाएपछि पेनाल्टीको मौका पाएको थियो ।
दोस्रो हाफमा नेपालका डिफेन्डरले लगातार गल्ती गरेपछि नेपाल १–० ले पछि पर्यो । खेलको ७२औँ मिनेटमा युएईको काउन्टर एट्याक्टलाई नेपालका डिफेन्डरले विफल पार्न सकेनन्। खालफान हसन अल हमादीले नेपालको कमजोर डिफेन्स रणनीति फाइदा लिँदै युएईलाई १–० को अग्रता दिलाए ।
अन्तिम इन्जुरी समयमा पनि नेपालबाट गोल नहुँदा युएईले महत्वपूर्ण तीन अंक जोड्यो । नेपाललाई हराएको युएई अंक तालिकाको शीर्ष स्थानमा छ । प्रतियोगिताको विजेताले छनोटमा स्थान बनाउनेछ। उत्कृष्ट उपविजेता पनि अन्तिम चरणमा छनोट हुनेछ ।
यसअघि नेपालले छनोट प्रतियोगिताको पहिलो खेलमा घरेलु टोली किर्गिस्तानसँग २–० तथा दोस्रो खेलमा बहराइनसँग ४–० को खराब नतिजा निकालेको थियो । शीर्ष दुई स्थानको आशा जीवित राख्न नेपालले युएईलाई हराउनैपर्ने अवस्था थियो ।