सन्जीतकुमार राई कुङफु खेलमा लागेको २७ वर्ष भयो। कुङफु खेलाडी हुँदै उनी प्रशिक्षक बने। विभिन्न राष्ट्रमा गएर निर्णायकको भूमीकामा रहेर पनि काम गरे।
अहिले उनी नेपाल उमा (वर्ल्ड युनाइटेड मार्सल आर्ट्स) कुङफु एसोसिएसनको वरिष्ठ उपाध्यक्ष छन्। यस्तै अन्तर्राष्ट्रिय कुङफु फेडेरेसन, टोआ कुङफु संघ र विश्व मार्सल अर्ट्स कमिटीमा उनी महासचिव पनि छन्।
कुङफुमा लाग्नुअघि उनी तेक्वान्दोका खेलाडी थिए। सन् १९९४ मा स्कुलमा पढ्दा बुबाले उनलाई तेक्वान्दो सिक्न पठाए। ७ कक्षादेखि उनले तेक्वान्दोमा खेल्दै स्कुलस्तरीय प्रतियोगितामा भाग पनि लिए।
काठमाडौंको डिल्लीबजारमा जन्मिए पनि उनी बुढानिलकन्ठमा हुर्किए। बुढानिलकन्ठ सरेपछि तेक्वान्दोका पारखी बुबाले छोरालाई पनि तेक्वान्दो नै सिक्न पठाएका थिए।
दुई वर्ष तेक्वान्दो सिकेपछि उनी उसुतर्फ आकर्षित भए। उसु खेलको कला मन परेका कारण उनले तेक्वान्दो छाडेर उसु रोजेका थिए।
उसुमा पनि उनको मन बस्न सकेन। उनी १९९७ मा कुङफु खेल्न थाले। उसुसँग कुङफुका धेरै कुरा मिल्थे। कुङफुमा अझ राम्रा कला सिक्न पाउने भएपछि कुङफु खेल्ने मन बनाएको उनी बताउँछन्।
‘उसु खेल्दै गर्दा कुङफुबारे थाहा पाए। सबैकुरा बुझ्दा कुङफु खेल्ने उत्साह बढ्यो। अनि उसु छाडेर कुङफु खेलाडी बने,’ संजीतले भने । संजीत विगत २७ वर्षदेखि हालसम्म कुङफु खेलाडी, निर्णायक, प्रशिक्षक र व्यवस्थापकका रुपमा निरन्तर सक्रिय छन् ।
सन् २००५ सम्म निरन्तर कुङफु खेले। राष्ट्रिय प्रतियोगितामा निरन्तर भाग लिएर दर्जनौ पदक जितेको उनी बताउँछन्। सन् २००५ देखि भने उनले प्रशिक्षण पनि गराउन थाले। प्रशिक्षक बनेपछि उनले काठमाडौं उत्तरी भेगमा कुङफु विस्तार गर्ने काम गरेका थिए। अहिले उनले उत्पादन गरेका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल भएका छन्।
प्रशिक्षकसँगै निर्णायक (जज) भएर पनि आफ्नो करिअरलाई अघि बढाएका संजीतले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमीका निर्वाह गर्ने अवसर पाएका छन्। उनले जर्मनी, स्विट्जरल्यान्ड, अस्ट्रिया, अमेरिका, भारतलगायतका देशमा गएर अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गरिसकेका छन्।
गत वर्ष भारतमा भएको राष्ट्रिय स्तरको कुङफु प्रतियोगितामा उनी मुख्य निर्णायक थिए। भारतमा सन् २०२२ को नोभेम्बर २०–२२ मा भएको राष्ट्रिय कुङफु च्याम्पियनसिपमा उनी मुख्य निर्णायक थिए। प्रतियोगितामा सबै निर्णायक टिम सबै नेपाली थिए।
उनी कुङफुलाई तीन तरिकाबाट बुझ्न पर्ने बताउँछन्। पहिलो उनी कुङफु फाइट भएको बताउँछन्। दोस्रो प्याट्रन (कला प्रदर्शनी) तथा तेस्रो मेडिटेसन (ध्यान) भएको बताउँछन्। खेलाडीको रुपमा फाइट र प्याट्रनको रुपमा अघि बढ्न सकिने उनको भनाइ छ। मेडिटेसन गर्दा मानिसको शारिरिक र मानसिक अवस्थालाई समेत फाइदा पुग्ने उनी बताउँछन्। सम्बन्धित रोगका विरामीले कुङफुको मेडिटेसन गर्दा धेरै नै फाइदा पुग्ने उनको भनाइ छ।
‘वास्तवमा कुङफु खेल मात्र होइन, यो ध्यान पनि हो। खेलमा आफ्नो करिअर बनाउन सक्नेले त्यसैअनुरूप अघि बढ्न सक्छन्। कसैले यसका विभिन्न नियम सिकेर मेडिटेसन गर्दै आफ्ना रोग पनि निको पार्न सक्छन्,’ उनले भने।
प्रशिक्षक र निर्णायक भए पनि उनले खेल्न अझै छाडेका छैनन्। हाल उनी कुङफुका पाँचौं डान प्राप्त खेलाडी हुन् ।
उनी गत वर्ष स्लोभेनियामा भएको प्रतियोगितामा भाग लिन पुगे। २०२२ सेप्टेम्बर २३–२५ सम्म भएको डब्लूएमएसी वर्ल्ड मार्सल आर्ट्स गेम्समा भाग लिँदै आफ्नो क्षमता देखाए। त्यहाँ उनले पदक जित्न सफल भए। भेट्रान पुरुष ३५ वर्षमाथि चाइनिज क्रिएटिभमा उनले उत्कृष्ट प्रदर्शन गर्न सफल भए। यो इभेन्ट्समा उनले स्वर्ण जितेका थिए। जसमा उनले ९.२ अंक हासिल गरेका थिए। यस्तै उनले थप एक कास्य पदक समेत हात पारे। सन्जीतले परम्परागत फम्समा कास्य जितेका थिए।
पाँच वर्षअघि नेपाल उमा कुङफु संघको पदाधिकारी बन्ने क्रममा उनी वरिष्ठ उपाध्यक्ष बने। संघको वरिष्ठ उपाध्यक्ष बन्नुअघि उनले दश वर्ष संघको सदस्य भएर काम गरेका थिए।
वरिष्ठ उपाध्यक्ष बनेपछि अहिले उनी खेल तथा संघलाई देशभर विस्तार गर्ने योजनामा छन्।
‘कुङफुलाई विस्तार गर्दै खेलाडी उत्पादन गर्न विभिन्न योजना ल्याइरहेका छौं,’ उनले भने।
उनको मुख्य उद्देश्य नेपालमा कुङफुलाई परिचित गराउने र यसमा आकर्षण बढाउने हो।