भारतीय बलर रवीचन्द्रन अश्विनले टेस्ट क्रिकेटमा २ सय विकेट र २ हजार रन बनाउने कीर्तिमान बनाएका छन्। उनी कम टेस्ट खेलेर यो कीर्तिमान बनाउने सूचीमा चौथो नम्बरमा पर्न पुगेका छन्।
अश्विनले श्रीलंकाविरुद्ध दोस्रो टेस्टअन्तर्गत शुक्रबार ९२ बलमा ५ चौका र १ छक्काको सहयोगले ५४ रन बनाउँदै यो कीर्तिमान रचेका हुन्। अश्विनले २ सय विकेट र २ हजार रन पुरा गर्न ५१ टेस्ट खेल्नु पर्यो। उनले यो सूचीमा न्युजिल्यान्डका रिचर्ड हयाड्लीलाई उछिनेका हुन्। हयाड्लीले ५४ टेस्टमा २ सय विकेट र २ हजार रन पुरा गरेका थिए।
सबैभन्दा छिटो यो कीर्तिमान बनाउनेमा इङ्ल्यान्डका अलराउन्डर इयान बोथम अगाडि छन्। उनले ४२ टेस्टमा यो कीर्तिमान बनाएका थिए। दोस्रो र तेस्रो नम्बरमा पाकिस्तानका इमरान खान र भारतका कपिल देव पर्छन्। इमरान र कपिल दुवैले ५० टेस्टमा यो कीर्तिमान बनाएका थिए।