दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) सुरू हुन एक साता मात्र बाँकी छ। यसपटक फेरिएको स्वरूपको त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलहरू आयोजना हुँदैछन्।
मंसिर १ देखि सुरू हुने एनपिएल २७ दिनसम्म चल्नेछ भने आठ फ्रेञ्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।
गत वर्ष एनपिएलमा दर्शकको क्रेज देखेर तत्कालीन सरकारले रंगशालामा प्यारापिट निर्माण गर्ने र फ्लडलाइटमा जडान गरेर राति खेल खेलाउने उद्देश्य स्वरूप त्रिवि मैदानको स्तरोन्नति गर्ने काम अघि बढाएको थियो।
गत वर्षको फागुनको तेस्रो सातादेखि काम सुरू गरिएको रंगशालामा अहिले दश हजार सिट क्षमताको नयाँ प्यारापिट निर्माण सकिएको छ। ४३ करोड ७७ लाख रुपैयाँमा ठेक्का भएको प्यारापिटमा अब सरसफाइको काम बाँकी छ।
प्यारापिट मैदानको पूर्वी र पश्चिम गरी दुई खण्डमा छ। पूर्वी खण्डमा २ हजार २ सय ९० कुर्सी र पश्चिम खण्डमा ७ हजार ७ सय १० कुर्सी जडान गरिएको छ। भिआइपीतर्फ थप ३ हजार दर्शक अट्ने गरी अस्थायी प्यारापिट बनाइएको छ। जसका कारण यसपटक १३ हजार दर्शकले एकै पटक बसेर खेल हेर्न सक्नेछन्।
एनपिएलअघि प्यारापिटको काम सकिए पनि फ्लडलाइट जडानको काम भने सकिनेमा शंका छ। फ्लडलाइट जडान भएमा राति पनि खेल गराउने योजनामा क्यान छ। तर फ्लडलाइटकै अन्योलतका कारण क्यानले अहिलेसम्म खेल तालिका निकालेको छैन।
रंगशालामा ४२ करोड १९ लाख ९१ हजार रुपैयाँ लगातमा ६ वटा फ्लडलाइट जडान हुन लगेको हो। जसमा सबै फ्लडलाइटको पोल ठड्याउने काम सकिएको छ। तर अहिलेसम्म दुई वटामा मात्र लाइट जडान भएको छ। अरू चार वटा फ्लडलाइटमा लाइट जडान गर्ने काम भइरहेको छ।
फ्लडलाइटकै कारण एनपिएल निर्धारित मितिमा सुरू गर्न कुनै समस्या नभएको नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामा बताउँछन्।
‘पहिलो संस्करणको नेपाल प्रिमियर लिग समापन पश्चात् नै क्यानको गभर्निङ काउन्सिलले दोस्रो संस्करणको तयारी सुरू गरेको थियो। त्यसैले यसपटक सहज भयो। अहिले तयारी अन्तिम चरणमा पुगेको छ। क्रिकेटको लागि चाहिने चिज आउटफिल्ड हो। यो तयारी अवस्थामा छ। यो मैदानमा खेल्नलाई कुनै समस्या छैन,’ प्रवक्ता लामाले सेतोपाटीसँग भने।
क्रिकेटको क्रेजलाई मध्यनजर राखेर तत्कालीन केपी ओली नेतृत्वको सरकारले पहिलो पटक प्यारापिट र फ्लडलाइट सहितको रंगशाला बनाउने निर्णय गरेको थियो। प्यारापिट र फ्लडलाइट जडानको काम वैशाखसम्म सक्ने सम्झौता भए पनि विभिन्न प्राविधिक समस्याले धकेलिएको थियो।
‘मैदानमा अहिले प्यारापिट बन्दा क्रिकेटमा नयाँ आयाम थपिएको छ। राज्यले प्राथमिकताका साथ नेपाली क्रिकेटलाई लगानी गरिराखेको छ, त्यो सकारात्मक छ। प्यारापिट बन्दा दर्शकले सिटमा बसेर क्रिकेटको रमाइलो लिनेछन्,’ प्रवक्ता लामाले भने, ‘एनपिएलको पहिलो संस्करणको जुन क्रेज थियो। दोस्रो संस्करणमा प्यारापिट र फ्लडलाइटका कारण एनपिएलमा नयाँ आयाम थपिन्छ।’
तर लामाले फ्लडलाइट जडानको कहिले सकिन्छ भन्ने विषयमा भने स्पष्ट जबाफ दिन सकेनन्।
‘फ्लडलाइटमा क्रिकेट गराउन क्यानभन्दा पनि निर्माण गरिरहेको कम्पनी नै आतुर हुनुहुन्छ। किनभने क्रिकेट र एनपिएलको क्रेजका कारण उहाँहरू पनि नेपालीलाई पहिलोपटक फ्लडलाइटमा क्रिकेट देखाउन आतुर हुनहुन्छ,’ लामाले भने, ‘आन्दोलन र केही टेक्निकल समस्याले गर्दा चाहिँ काममा ढिलो भयो। तीन-चार दिनभित्रमा थप जानकारी क्यानलाई आउँछ।’
फ्लडलाइट जडान भएमा पहिलो खेल मध्याह्न १२ बजेपछि र दोस्रो खेल अपराह्न ४ बजेपछि सुरू गर्ने क्यानको तयारी छ। लाइट जडान नभएमा पहिलो खेल बिहान ९ बजे र दोस्रो खेल दिउँसो १ बजेपछि खेल सुरू हुनेछन्।
यसपटक खेलको टिकट अनलाइनमार्फत् काट्न पर्ने र सिटअनुसार दर्शक बस्नु पर्नेछ।
क्यानले यसपटक अस्थायी प्यारापिटको क्षमता बढाएको छ। उक्त प्यारापिटमा ३ हजार दर्शक अट्नेछन्। उक्त प्यारापिट टिकट काट्ने दर्शकका लागि नभएर क्यानका पहुनाका लागि हो।
‘आठ टोलीका लगानीकर्ता, प्रायोजक, ४५ जिल्लाका क्यानका प्रतिनिधि, खेलाडी सहितका पाहुनाका लागि ३ हजार क्षमताको अस्थायी प्यारापिट हामीसँग तयारी अवस्थामा छ। त्यसो हुँदा एकपटक १३ हजार बढी मानिसले त्रिवि क्रिकेट रंगशालमा खेल हेर्नेछन्,’ लामा भने।
अघिल्लो संस्करणको जस्तै यसपटक पनि भिआइपीको लागि विभिन्न खानेकुराको स्टल लगायतका सुविधा हुनेछन्। यस्तै दर्शकका लागि पनि खानाको लागि स्टल राखिने क्यानको भनाइ छ।
क्यानले सबै दर्शकका लागि शौचालय र पार्किङ स्थान पनि निर्माण गरिरहेको छ।
क्यानले एनपिएलका लागि सुरक्षाका लागि निजी सुरक्षाकर्मीको संख्या समेत बढाउने भएको छ।
सुरक्षाको विषयमा क्यान प्रवक्ता लामाले भने, ‘सुरक्षाका लागि क्यानले आवश्यक निजी सुरक्षाकर्मी पनि बढाउनेछ। किनभने सुरक्षाको विषयमा क्यान गम्भीर छ। सँगसँगै नेपाल प्रहरीहरूसँग पनि सुरक्षाको विषयमा योजना गर्ने काम भइरहेको छ।’
एनपिएलकै लागि भनेर क्यानले पिच पनि लामो समयदेखि मर्मतसम्भार गरिरहेको छ। पहिलो संस्करणका बनाइएका ६ वटा पिचलाई अहिले अझै उत्कृष्ट बनाएको लामाको भनाइ छ।
‘विगत लामो समयदेखि पिच मर्मत भइरहेको छ। यहाँमा अहिले धेरै खेल पनि भएका छैनन्। अघिल्लो सिजन मर्मत गर्न थौरै समय पाएका थियौं। तर यसपटक हामीले धेरै समय पायौं। त्यसैले पिच राम्रो भएको हाम्रो विश्वास छ,’ लामाले भने।