आइसिसी मेन्स टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा जापानले नेपाललाई १३२ रनको लक्ष्य दिएको छ।
ओमान क्रिकेट एकेडेमीमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जापानले ८ विकेटको क्षतिमा १३१ रन जोड्यो।
जापानका लागि ओपनर तथा कप्तान कोडावाकी फ्लेमिङले ४६ बलमा ६० रन जोडे। उनले ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै इशम रहमानले २५ बलमा १ चौका र २ छक्काको मद्दतमा ३१ रन बनाए। उनीहरुबीच दोस्रो विकेटका लागि ८६ रनको साझेदारी भएको थियो।
१३औं ओभरको पाँचौ बलमा रहमानलाई सोमपाल कामीले आउट गरेपछि नेपाल खेलमा फर्कियो। अर्को ओभरमा फ्लेमिङलाई गुल्सन झाले रोहित पौडेलबाट क्याच गराएपछि नेपालले जापानलाई दबाब दियो।
१३औं ओभरको चौथो बलसम्म एक विकेट मात्र गुमाउँदा ९७ रन जोडेको जापानले थप ३४ रन बनाउँदा ७ विकेट गुमायो।
बलिङमा नेपालका गुल्सन झा र सन्दीप लामिछानेले २-२ विकेट लिए। गुल्सनले ४ ओभरमा १ मेडन राख्दा २० रन खर्चिए। पहिलो दुई ओभरमा खर्चिलो बनेका सन्दीपले पछिल्लो दुई ओभरमा किफायती बलिङ गरेका थिए। उनले ४ ओभरमा २५ रन दिए।
नन्दन यादव र सोमपाल कामीले १-१ विकेट लिए।
दुवै टोली यसअघि नै सुपर-६ मा पुगिसकेका छन्। त्यसैले नेपाल र जापानबीच शुक्रबार अपरान्ह समूह विजेताका लागि खेल हुनेछ। यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ। किनभने यो खेलको अंक सुपर-६ मा पनि गनिनेछ।
छनोटबाट तीन टोलीले आगामी वर्षको फेब्रुअरी-मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन्।
शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी-२० विश्वकपमा छनोट हुनेछ।