ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा युएई र कतारले सुपर-६ मा स्थान पक्का गरेका छन्।
समूह-१ को खेलमा युएईले लगातार दोस्रो जित निकाल्दै सुपर-६ मा स्थान पक्का गरेको हो। युएईले शुक्रबार मलेसियामाथि ६ विकेटको जित निकाल्यो।
मलेसिया भने समूह चरणबाटै बाहिरियो। बिहीबार मलेसियालाई हराएको कतार भने सुपर-६ मा पुगेको छ।
यसअघि समूह-२ बाट नेपाल र जापानले सुपर-६ मा स्थान बनाएका थिए। अब समूह-३ बाट ओमान, पिएनजी र सामोओमध्ये दुई टोलीले सुपर-६ मा स्थान बनाउनेछन्।
अब नेपालले सुपर-६ मा युएई र कतारसँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि नेपालले आजै जापानसँग प्रतिस्पर्धा गर्नेछ।
जापान पनि सुपर-६ मा पुगेको अवस्थामा आजको खेल नेपालका लागि महत्वपूर्ण छ। आज नेपाल र जापानबीचको खेलको विजेताले प्राप्त गर्ने अंक सुपर-६ मा पनि जोडिनेछ।
सुपर-६ मा पुगेका शीर्ष तीन टोलीले अर्को वर्षको फेबुअरी-मार्चमा भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान पक्का गर्नेछन्।