वेस्ट इन्डिजविरूद्ध दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
सोमबार संयुक्त अरब इमिरेट्स (युएई) को शारजाहमा भइरहेको खेलमा टस जितेर नेपालले ब्याटिङ रोजेको हो।
यसअघि शनिबार भएको खेलमा नेपालले पहिलो पटक आइसीसीको पूर्ण सदस्य राष्ट्र वेस्ट इन्डिजविरूद्ध जित हासिल गरेको थियो।
नेपालविरूद्धको सिरिजका लागि वेस्ट इन्डिजले पाँच जना खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा स्थान दिएको छ। अनुभवी खेलाडीलाई आराम दिएको वेस्ट इन्डिजविरूद्ध नेपालका लागि आफ्नो क्षमता देखाउने अवसर पनि हुनेछ।
वेस्ट इन्डिजसँग सिरिज खेलेलगत्तै नेपाली टोली त्यतैबाट विश्वकप छनौट खेल्न ओमान जानेछ। ओमानमा सुरूमा नेपालले समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ। यो समूहबाट शीर्ष दुईमा परे सुपर–६ मा पुग्नेछ।
सुपर–६ मा खेल्ने ६ टोलीमध्ये शीर्ष ३ मा पर्न सके नेपालले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछ।
ओमानमा तीन समूह नौ टोलीबीच प्रतिस्पर्धा हुनेछ। अरू समूहमा मलेसिया, कतार र युएई तथा ओमान, पिएनजी सामोआ छन्।
तीन समूहका शीर्ष २–२ टोली गरी सुपर–६ मा पुग्ने कुल ६ टोलीमध्ये शीर्ष ३ टोली भए नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी–२० विश्वकपमा छनोट हुनेछ।