भारतको आसाम स्टेट टोलीसँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालको ‘ए’ टोली पराजित भएको छ।
बिहीबार भारतको गुवाहाटीमा भएको खेलमा नेपालको ए टोलीमाथि आसामले डिएसएल मेथडमा १५ रनको जित निकालेको हो।
पहिले ब्याटिङ गरेको आसामले ८ विकेटको क्षतिमा १९० रन जोड्यो। आसामका लागि कप्तान तथा विकेटकिपर सुमित झाडीगाओकरले ३४ रन बनाए भने सुमित कश्यपले २२ रन बनाए। अभिनव चौधरीले नटआउट २६ रन बनाए।
बलिङमा नेपालका आकाश चन्दले ३ विकेट लिए भने कमलसिंह ऐरी र विवेककुमार यादवले २-२ विकेट हात पारे। आदिल अन्सारीको नाममा १ विकेट रह्यो। सागर ढकाल र बसिर अहमदले विकेट लिन सकेनन्।
१९१ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको नेपाल ८ ओभरमा ६४-३ को अवस्थामा खेल वर्षाले अवरुद्ध भयो। फेरि खेल हुन नसकेपछि आसाम विजयी भयो।
नेपालका लागि शुभ कंसाकार ३३ रन र सन्दीप जोरा २ रन बनाएर खेलिरहेको अवस्था थियो। ओपनरद्वय इशान पाण्डे १ रन र कप्तान अनिल साह २० रनमा आउट भएका थिए। यस्तै पवन सर्राफले पनि ६ रन मात्र जोड्न सके।
सिरिजको दोस्रो खेल अब शुक्रबार हुनेछ। लगातार सोमबारसम्म खेल भएपछि सिरिज सकिनेछ।