ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले आज सुपर-६ को महत्वपूर्ण खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्दै छ।
समूह विजेता हुँदै सुपर-६ मा पुगेको नेपालले आइतबार अपराह्न सवा ४ बजे आफ्नो चीर परिचित प्रतिद्वन्द्वी युएईसँग खेल्न लगेको हो। खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुनेछ।
नेपाल र युएईबीच टी-२० अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म १० वटा खेल भएका छन्। ती १० खेलमध्ये दुवै टोली ५-५ खेलमा विजयी भएका छन्।
पछिल्ला ५ खेलको नतिजामा नेपाल ३ खेलमा विजयी भएको छ भने युएई २ खेलमा जित निकाल्न सफल छ।
नेपाल र युएईबीच पछिल्लो खेल सन् २०२४ को अप्रिल १९ मा भएको थियो। सो खेलमा भने नेपाल ६ विकेटले पराजित भएको थियो। ओमानमै भएको एसिसी प्रिमियर कपको यो सेमिफाइनल खेलमा पराजित भएसँगै नेपालको एसिया खेल खेल्ने यात्रामा झड्का लागेको थियो।
त्यसअघि नेपाल र युएईबीच सन् २०२३ मा ४ वटा टी-२० अन्तर्राष्ट्रिय खेल भएका थिए। ४ मध्ये नेपाल ३ खेलमा विजयी भएको थियो। नेपालले सन् २०२३ को नोभेम्बरमा मुलपानीमा भएको विश्वकप छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराएर आइसिसी टी-२० विश्वकप २०२४ मा स्थान पक्का गरेको थियो।
सन् २०२३ कै अक्टोबरमा भएको ट्राइ नेसन सिरिजमा भने युएईले नेपाललाई कीर्तिपुरमा ४ विकेटले पराजित गरेको थियो। सिरिजका अघिल्ला दुई खेलमा भने नेपाल ५ विकेट र ७ विकेटले विजयी भएको थियो।
सुपर-६ को महत्वपूर्ण खेल
आज युएईविरूद्धको खेल नेपालका लागि महत्वपूर्ण छ। किनभने युएईलाई आज हराएको अवस्थामा नेपालको विश्वकपमा छनोट हुने सम्भावना बढ्नेछ। आजको हारले भने नेपालमाथि दबाब बढ्न सक्छ।
समूह चरणको खेलमा नेपालले कुवेत र जापानलाई हराएको थियो। नेपाल रहेको समूह २ बाट जापान पनि सुपर सिक्समा पुगेको छ। यद्यपि आफ्नै समूहबाट आएको टोलीबीच भने सुपर सिक्समा खेलाइँदैन।
अब सुपर-६ मा आफ्नो समूहबाट आएका बाहेकका चार टोलीसँग प्रतिस्पर्धा गर्नु पर्नेछ। आफ्नो समूहबाट आएको टोलीसँगको नतिजा पनि सुपर-६ मा गणना हुनेछ।
जसमा युएई, नेपाल र ओमानले सुपर-६ मा २-२ अंक जोडिसकेका छन्।
दोस्रो खेलमा नेपालले कतारसँग सोमबार खेल्दा तेस्रो खेलमा बुधबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ।
न्तिम खेलमा नेपालले सामोआसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ।
सुपर-६ का शीर्ष तीन टोलीले आगामी वर्षको फेब्रुअरी-मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन्।
शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी-२० कपमा छनोट हुनेछ।