अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले मंगलबार खेलिएका दुई वटा टी-२० अभ्यास खेलमा जित निकालेको छ।
नेपालले दुवै अभ्यास खेलमा क्रिकेट एसिटी अस्ट्रेलियालाई पराजित गरेको हो। पहिलो अभ्यास खेलमा ४१ रनले विजयी भएको नेपालले दोस्रो अभ्यास खेलमा ६ विकेटको जित निकाल्यो।
पहिलो अभ्यास खेलमा पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १७७ रन बनायो। नेपालका लागि आसिफ शेखले ३९ बलमा ६९ रन, रोहित पौडेलले ३६ रन र आरिफ शेखले २४ रन बनाए।
१७८ रनको लक्ष्य पछ्याएको एसिटी १७.२ ओभरमा १३६ रनमा अलआउट भयो। उसका लागि जे स्मिथले ५० रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन। बलिङमा नेपालका सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिए भने करण केसीको नाममा २ विकेट र रुपेश सिंहको नाममा १ विकेट रह्यो।
दोस्रो अभ्यास खेलमा टस हारेर पहिले ब्याटिङ गरेको एसिटी ९६ रनमा अलआउट भयो। उसका लागि ब्रोइसले सर्वाधिक १५ रन बनाए। बलिङमा नेपालका शाहब आलम र दीपेन्द्रसिंह ऐरीले ४-४ विकेट लिए।
९७ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा १३.२ ओभरमा पूरा गर्यो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट ४२ रन बनाए भने गुल्सन झाले २३ रन बटुल्न सफल भए। त्यसअघि भीम सार्की ८ रन, आसिफ शेख ४ रन र रोहित पौडेल ९ रनमा आउट भएका थिए।
अक्टोबरमा ओमानमा हुने आइसिसी पुरूष टी-२० विश्वकपको एसिया तथा पूर्वी एसिया-प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि नेपाल अस्ट्रेलियामा गएको हो।
यसअघि टप एन्ड सिरिज खेलेको नेपालले अब अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग २८ अगस्टमा दुई वटा टी-२० खेल खेल्नेछ। यस्तै ३० अगस्टमा साउथ अस्ट्रेलियासँग नै एकदिवसीय खेल खेल्नेछ।
नेपालले अस्ट्रेलियामा सिरिज खेलेपछि सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्दैछ।
विश्वकप छनोटमा नेपालसहित नौ टोलीले भाग लिँदैछन्। शीर्ष तीन टोली अर्को वर्ष भारतमा हुने विश्वकपमा पुग्नेछन्।
नेपाली टोलीः रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरि (उप-कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण के सी, रिजन ढकाल, लोकेस बम, साहब आलम।