फ्यान्टेसी स्पोर्ट्स कम्पनी ड्रीम ११ ले भारतीय क्रिकेट टोलीको मुख्य प्रायोजक नरहने संकेत दिएको छ।
भारतमा अनलाइन गेमिङ सम्बन्धी नयाँ कानुन आएसँगै ड्रीम ११ ले मुख्य प्रायोजन नहरने संकेत भारतीय क्रिकेटको प्रशासनिक निकाय भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) लाई दिएको हो।
भारतको केन्द्र सरकारले हालै संसदका दुवै सदनबाट ‘अनलाइन गेमिङको प्रवर्द्धन तथा नियमन ऐन, २०२५’ पारित गरेको थियो।
भारतको नयाँ कानूनले वास्तविक पैसा राखेर खेलिने अनलाइन गेमिङ प्रतिबन्ध लगाएको छ। कानुन लागू भएसँगै ड्रीम ११ ले पैसा लिएर दिने आफ्ना सबै सेवा बन्द गरिसकेको छ। यही कारणले उसको आम्दानीमा ठूलो असर पर्ने देखिएसँगै भारतीय टोलीको मुख्य प्रायोजकबाट पछि हटेको हो।
ड्रीम ११ ले बिसिसिआईसँग सन् २०२३ देखि २०२६ सम्मका लागि ४४ मिलियन अमेरिकी डलर (लगभग ६ अर्ब १७ करोड नेपाली रुपैयाँ) को सम्झौता गरेको थियो।
अर्कोतर्फ ड्रीम ११ र अर्को फ्यान्टेसी स्पोर्ट्स कम्पनी माइ११ सर्कलले मिलेर भारतीय क्रिकेट टोली र आइपिएलको प्रायोजनमार्फत बीसिसिआईलाई करिब १००० करोड भारतीय रुपैयाँ दिँदै आएका थिए।
नयाँ कानूनले सामाजिक गेमिङ र शुल्क तिरेर खेल्ने (सब्स्क्रिप्सन) लाई अनुमति दिए पनि वास्तविक पैसाको बाजी राख्ने खेलमाथिको प्रतिबन्ध लगाएको छ। यसले ड्रीम ११ को आम्दानीको सबैभन्दा ठूलो हिस्सा गुमेको हो।
नयाँ कानुन आएपछि ड्रीम ११ ले एक विज्ञप्तिमा निकालेर प्रतिक्रिया दिँदै भनेको छ, ‘हामी सधैं कानूनको पालना गर्ने कम्पनी हौं र हामीले आफ्नो व्यापार सधैं कानुनको दायरामा रहेर गरेका छौं। हाम्रो विचारमा प्रगतिशील कानुन ल्याएको भए अझ राम्रो हुन्थ्यो। तर पनि हामी कानुनको सम्मान गर्नेछौं र अनलाइन गेमिङको प्रवर्द्धन तथा नियमन विधेयक, २०२५ को पूर्ण रूपमा पालना गर्नेछौं।’
फ्यान्टेसी गेमिङ उद्योगका एक जानकारले भारतीय समाचार संस्था पीटिआईलाई भनेका छन्, ‘कानुनमा वास्तविक पैसाको खेलमाथि प्रतिबन्ध लगाउनु लगभग निश्चित नै थियो। किनभने फ्यान्टेसी बजारका सबै ठूला कम्पनीको कम्तिमा ९०% आम्दानी यही पैसाको खेलबाट आउँछ। अब हेर्न रोचक हुनेछ कि माइ११ सर्कलले के गर्छ, जसले आइपिएलको आधिकारिक फ्यान्टेसी पार्टनर हुनका लागि बीसिसिआईलाई वार्षिक १२५ करोड रुपैयाँ तिर्छ। सायद उसले पनि ड्रीम ११ कै बाटो रोज्नुपर्ने हुन सक्छ। जहाँसम्म क्रिकेटरले व्यक्तिगत रूपमा विभिन्न एपसँग गर्ने विज्ञापन सम्झौताको कुरा छ, त्यो बजारमा पनि ठूलो धक्का लाग्नेछ।’
नयाँ सरकारी ऐनमा भनिएको छ, ‘कुनै पनि व्यक्तिले अनलाइनमा पैसा राखेर खेल्ने खेलका लागि सेवा दिन, सहयोग गर्न, उक्साउन वा त्यसमा संलग्न हुन पाउने छैन। साथै, यस्ता खेल खेल्नका लागि प्रोत्साहन गर्ने कुनै पनि किसिमको प्रत्यक्ष वा अप्रत्यक्ष विज्ञापन गर्न पनि पाइने छैन।’
यता ड्रीम ११ ले सम्झौता तोडेबापत ठूलो जरिवाना तिर्नु नपर्ने हुन सक्छ। किनभने ड्रीम ११ र बिसिसिआईको सम्झौतामा विशेष प्रावधानमा सरकारले कुनै नयाँ नियम वा कानून ल्याएमा जरिवानामा छुट मिल्ने लेखिएको छ।