भारतले पाकिस्तानसँग द्विपक्षीय (एक-अर्कासँग मात्र हुने) खेल खेल्नका लागि पाकिस्तानको भ्रमण नगर्ने तथा पाकिस्तानलाई पनि आफ्नो देशमा नबोलाउने भएको छ।
तर, दुवै देशका खेलाडी तथा टोलीहरू पाकिस्तान पनि सहभागी हुने बहुराष्ट्रिय प्रतियोगिताहरूमा भने खेल्न सक्नेछन्।
यसले सेप्टेम्बरमा हुने पुरुष एसिया कप र अक्टोबरमा हुने महिला एकदिवसीय विश्वकपमा भारत-पाकिस्तानबीचको खेलका लागि बाटो खुला गरेको छ।
त्यसैगरी, भारतले आयोजना गर्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पाकिस्तानी खेलाडीहरूले पनि भाग लिन पाउनेछन्।
भारतको खेलकुद मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यी निर्देशहरू दिएको हो। दुई देशबीच राजनीतिक सम्बन्ध तनावपूर्ण रहेको बेला, खेलकुद सम्बन्धमा भारत सरकारको अडान स्पष्ट पारिएको छ।
विज्ञप्ति यूएईमा एसिया कप सुरु हुनुभन्दा करिब तीन हप्ताअघि आएको हो। एसिया कपमा एउटै समूहमा परेका भारत र पाकिस्तानबीच कम्तिमा एक पटक (सेप्टेम्बर १४ मा दुबईमा) र सम्भवतः तीन पटकसम्म भेट हुन सक्छ। अप्रिलमा भएको पहलगाम आतंकवादी हमलापछि दुई देशबीच बढेको सीमा तनावपछिको यो पहिलो भारत-पाकिस्तान क्रिकेट म्याच हुनेछ।
यस्तो तनावपूर्ण वातावरणमा भारतले पाकिस्तानसँग सबै प्रकारका खेलकुद सम्बन्ध तोड्नुपर्छ भन्ने माग पनि उठिरहेको थियो। जुलाईमा संन्यास लिएका खेलाडीहरूबीच भएको 'वर्ल्ड च्याम्पियनसिप अफ लेजेन्ड्स' प्रतियोगितामा भारतीय टोली 'इन्डिया च्याम्पियन्स' ले पाकिस्तानविरुद्धको सेमिफाइनल खेल बहिष्कार गरेको थियो।
अब भारत सरकारले आफ्नो अडान स्पष्ट पारेसँगै एसिया कपमा पाकिस्तानसँग खेल्नका लागि आधिकारिक स्वीकृति मिलेको छ।
यो प्रतियोगिता पहिले भारतमा हुने तय भए पनि जुलाईमा यूएई सारिएको थियो।
यो विज्ञप्तिले एक दशकभन्दा लामो समयदेखि भारत सरकारको अघोषित नीतिलाई स्पष्ट रूपमा लिखित रूप दिएको छ। दुई देशले सन् २०१२ देखि कुनै पनि द्विपक्षीय शृङ्खला खेलेका छैनन्, तर एकदिवसीय र टी-२० विश्वकप, च्याम्पियन्स ट्रफी र एसिया कपजस्ता प्रतियोगिताहरूमा भने पटक-पटक आमनेसामने भएका छन्।
पाकिस्तान २०१६ को टी-२० विश्वकप र २०२३ को एकदिवसीय विश्वकपका लागि भारत आएको थियो। तर भारत २०२५ को च्याम्पियन्स ट्रफीका लागि पाकिस्तान गएको थिएन। भारतका सेमिफाइनल र फाइनल लगायतका खेलहरू दुबईमा खेलाइएको थियो। अब २०२४-२७ साइकलका बाँकी आईसीसी प्रतियोगिताहरूका लागि पनि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) यही 'हाइब्रिड मोडेल' (केही खेल पाकिस्तान र केही बाहिर) मा सहमत भएका छन्।