अस्ट्रेलियाको डार्बिनमा सुरू भएको टप एन्ड टी-२० क्रिकेट सिरिजमा नेपालले भोलि आफ्नो पहिलो खेल खेल्दैछ।
घरेलु टोली नर्दन टेरिटोरीसँग नेपालले पहिलो खेल खेल्न लागेको हो। यो खेल नेपाली समयअनुसार दिउँसो सवा २ मा सुरू हुनेछ।
त्यसपछि सिरिजमा नेपालले शनिबार बंगलादेश ‘ए, सोमबार मेलवार्न स्टार्स एकेडेमी, बुधबार मेलवर्न रेनेगेड्स एकेडमी र अर्को शुक्रबार पाकिस्तान शाहिन्सासँग खेल्नेछ।
यो सिरिजपछि नेपालले एक साता अस्ट्रेलियामा थप अभ्यास गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
नेपालले क्रिकेट एसिटीसँग २६ अगस्टमा दुई वटा र साउथ अस्ट्रेलियासँग २८ अगस्टमा दुई वटा गरी कुल चार वटा टी-२० खेल खेल्नेछ। यस्तै ३० अगस्टमा साउथ अस्ट्रेलियासँग नै एकदिवसीय खेल खेल्नेछ।
नेपाली टोली आइसिसी टी-२० विश्वकपको छनोटको तयारीका लागि अस्ट्रेलिया गएको हो।
अस्ट्रेलियामा तयारी गरेपछि नेपालले सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्नेछ।
युएईमा वेस्ट इन्डिजसँग खेलेपछि नेपाली टोली अक्टोबरमा ओमानमा हुने विश्वकप छनोट खेल्न जानेछ।
एसिया एन्ड इस्ट एसिया प्यासेफिक छनोटमा नेपालसहित नौ टोलीले भाग लिँदैछन्। शीर्ष तीन टोली अर्को वर्ष भारतमा हुने विश्वकपमा पुग्नेछन्।