नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट लले नेपालले बेलायत भ्रमण गर्नुअघि आफ्नो मुख्य योजना (मास्टर प्लान) सार्वजनिक गरेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) को युट्युब च्यानलमार्फत् लले अहिले सञ्चालन भएको बन्द प्रशिक्षणदेखि भविष्यका योजना सार्वजनिक गरेका हुन्।
उनले कोर क्याम्पमा ५२ खेलाडीलाई चार टोलीमा विभाजन गरेर खेल खेलाउँदा खेलाडीले दबाबमा गर्न सक्ने प्रदर्शनबारे नियाल्न उपयोगी भएको बताए। नेट अभ्यासभन्दा प्रतिस्पर्धात्मक खेलबाट खेलाडीको प्रतिभा नियाल्न आफूलाई सजिलो हुने उनको भनाइ छ।
कोर क्याम्पबाट २७ खेलाडी बाहिरिएका थिए भने २५ खेलाडी अहिले दोस्रो चरणको बन्द प्रशिक्षणमा सहभागी छन्।
उनले अहिले नेपाली टोलीमा अनुभवी र उदयीमान खेलाडीको मुल्यांकन गरिरहेका छन्। उनले नेपालमा प्रतिभाको कमी नभएको पनि बताए।
उनले नेपाली खेलाडीहरुले मानसिक रुपमा बलियो हुनु पर्ने, गेम अवयरनेस र दबाबमा खेल्न पर्ने जस्ता कुरा सुधार गर्नु पर्ने पनि बताए।
उनले नेपालको स्पिन बलिङ पहिले देखि नै बलियो भएको र यसलाई अझ निखार्नु पर्ने समेत बताए। उनले ठूला खेलमा ब्याटिङ गर्न सजिलो नहुने पनि बताए। नेपालले तीव्र गतिको बलिङमा सुधार गर्दै यसमा काम गर्ने पनि उनको भनाइ छ।
फिल्डिङमा राम्रो गर्नका लागि टोलीमा काम गरेको र खेलाडीको फिटनेट राम्रो भए खेल जित्न महत्वपूर्ण आधार हुने उनले विश्लेषण गरे।
नेपालले जेठमा बेलायत भ्रमण गर्दैछ। स्कटल्यान्ड जानुअघि इंग्ल्यान्डमा नेपाली टोलीले तयारी गर्नेछ। उनले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँगको सिरिजमा सबै खेल जित्ने लक्ष्य भएको बताए। तर दुवै टोली बलिया भएको र स्कटल्यान्डको मैदानमा खेल्न गाह्रो हुने कुरा उनले स्विकार गरे।
सिरिजअघि इंग्ल्यान्डमा काउन्टी टोलीसँग खेल्दा नेपालले त्यहाँको कन्डिसनबारे थाहा पाउने पनि उनको भनाइ छ। लले त्यहाँको कन्डिसन चुनौतीपूर्ण र अपरिचित हुन सक्नेतर्फ पनि सचेत रहेको बताए।
विश्वकप लिग-२ मा नेपाल अहिले आठ टोली सहभागी हुँदा सातौ स्थानमा छ। नेपालले खेलेका १२ मध्ये ८ खेलमा त पराजय भोगिसकेको छ। त्यसैले उनले स्कटल्यान्डको सिरिजमा महत्वपूर्ण भएको र हार्ने बानीलाई तोड्दै जित्ने बानी विकास गर्नु पर्ने आवश्यकता औल्याए। उनले आफ्नो उद्देश्य लिग-२ मा शीर्ष चारमा रहेर एकदिवसीय मान्यता जोगाउनु भएको बताए।
उनले घरेलु क्रिकेटमा दीर्घकालिन असर गर्ने खालका प्रतियोगिता निरन्तर हुनु पर्ने बताउँदै नेपाल प्रिमियर लिग राम्रो सुरुवात भएको बताए।
नेपाली फ्यानको बारेमा पनि कुरा गर्दै उनले फ्यानको जोश र समर्थनको प्रशंसा पनि गरे।
नेपाली टोलीले वैशाख ३१ देखि जेठ १२ गतेसम्म इंग्ल्यान्डमा अभ्यासका क्रममा स्थानीय क्रिकेट क्लब र एमसिसीसँग अभ्यास खेलसँगै ट्रेनिङ क्याम्पमा समेत सहभागिता जनाउनेछ।
त्यसपछि स्कटल्यान्ड गएपछि नेपालले त्यहाँ स्कटल्यान्ड ए टोलीसँग दुई वटा अभ्यास खेल्नेछ।
नेपालले लिग-२ अघि कुल ६ वटा अभ्यास खेल खेल्ने कार्यक्रम छ।
लिग-२ मा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक सिरिज खेलेपछि यिनै टोलीसँग टी-२० सिरिज पनि खेल्नेछ।
लिग-२ को खेल जेठ १९ देखि हुनेछ भने टी-२० सिरिज असार २ देखि सुरु हुनेछ।