चेन्नई सुपर किंग्स पुनः पराजित भएको छ।
इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत गएराति मुम्बई इण्डियन्ससँगको खेलमा चेन्नई ९ विकेटले पराजित भएको हो।
अघिल्लो खेलमा लखनउलाई पराजित गर्दै चेन्नईले लगातारको हार शृंखला तोडेको थियो। चेन्नई अहिलेसम्मको ८ खेलमध्ये २ खेलमा मात्र विजयी भएको छ। बाँकी ६ खेलमा पराजित हुँदा ऊ अंक तालिकाको पुछारमा छ।
वांखेडे स्टेडियममा गएराति चेन्नईले दिएको १७७ रनको लक्ष्य मुम्बईले १ विकेटमात्रै गुमाएर २६ बल बाँकी छँदै पूरा गर्यो।
त्यसक्रममा रोहित शर्मा ७६ रन र सूर्यकुमार यादव ६८ रन बनाएर नट आउट रहे।
रोहितले ४५ बलमा ४ चौका र ६ छक्का हाने भने सूर्यकुमार यादवले ३० बलमा ६ चौका र ५ छक्का प्रहार गरे।
ओपनर रियान रिकेल्टन १९ बलमा ३ चौका र १ छक्का हानेर २४ रन बनाएर आउट भएका थिए। उनलाई रवीन्द्र जडेजाले बोल्ड गरेका थिए।
पहिले ब्याटिङ गरेको चेन्नईले ५ विकेट गुमाएर १७६ रन बनाएको थियो।
चेन्नईका लागि रवीन्द्र जडेजा र शिवम दुबेले अर्धशतक हाने।
दुबेले ३२ बलमा २ चौका ४ छक्का हानेर ५० रन बनाए। जडेजा ३५ बलमा ४ चौका र २ छक्का हान्दै ५३ रन बनाएर नट आउट रहे।
त्यसअघि आयुष महात्रेले ३२ रन जोडे भने शैक रसिदले १९ रनको योगदान गरे।
बलिङतर्फ जसप्रित बुमराहले २ तथा दीपक चाहर, ट्रेन्ट बोल्ट र मिचेल सान्टनरले एक/एक विकेट लिए। मुम्बई ८ अंक बनाएर तालिकाको छैटौं स्थानमा छ।
गएराति नै भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लुरूले पञ्जाब किंग्सलाई ७ विकेटले पराजित गरेको थियो।
१५७ रनको झिनो लक्ष्य पछ्याएको बेंग्लुरूले विराट कोहलीको नट आउट प्रदर्शनीमा १८.५ ओभरमै जित निकालेको थियो।
तालिकामा बेंग्लुरू तेस्रो र पञ्जाब चौथो स्थानमा छ।