प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताअन्तर्गत दुई विभागीय टोलीको भिडन्तअन्तर्गत नेपाल पुलिस क्लबविरूद्ध सशस्त्र प्रहरी बलको एपिएफ क्लबले खराब ब्याटिङ गरेको छ।
दाङको लमहीमा टस जितेर पहिले ब्याटिङ गरेको एपिएफ २७.४ ओभरमा ९४ रनमै अलआउट भयो।
लगातार विकेट गुमाएको एपिएफका लागि ओपनर लोकेश बमले २२ रन र सन्दीप जोराले २६ रन बनाए। अरु ब्याटर सस्तैमा आउट भए। एपिएफका सात ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा पुलिसका ललितनारायण राजवंशीले ६ विकेट लिए। उनले ७.४ ओभरमा ३ मेडन राख्दा १८ रन मात्र खर्चिए।
सागर ढकाल, करण केसी, गुल्सन झा र कुशल भुर्तेलले १-१ विकेट लिए।
जारी प्रतियोगितामा पुलिस र एपिएफ दुवैले अघिल्ला दुई खेलमा लगातार जित निकालेका थिए।