सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा १३ विकेट लिएर उदयीमान खेलाडीको अवार्ड जितेका १६ वर्षीय स्पिनर विपिनप्रसाद शर्मालाई अभिनेत्री स्वस्तिमा खड्काले आइफोन उपहार दिएकी छिन्।
विपिनले कर्णाली याक्सबाट खेल्दै ८ खेलमा १३ विकेट लिएका थिए। स्वस्तिमा कर्णालीको ब्रान्ड एम्बासडर हुन्।
विपिनले आफूलाई स्वस्तिमाले क्रिसमसको उत्कृष्ट उपहार दिएको भन्दै इन्स्टाग्राममा स्टोरी राखेका थिए। स्टोरीमा आइफोनको तस्विर र स्वस्तिमाले उनलाई लेखेको नोट पनि राखिएको छ।
स्वस्तिमाले विपिनलाई एनपिएलको सफलताका लागि बधाइ दिँदै त्यसको प्रशंसाका लागि सानो चिनोको रुपमा फोन दिएको नोटमा लेखेकी छिन्।
विपिनले फोन र नोटसँगै राखेको स्टोरी स्वस्तिमाले आफ्नो स्टोरीमा रिसेयर गरेकी छिन्।
सुर्खेतका १६ वर्षीय विपिनले ट्यालेन्ट हन्टबाट कर्णालीको टोलीमा थिए। दोस्रो खेलदेखि टोलीमा स्थान बनाएका विपिनले एनपिएल खेल्न आएका चर्चित विदेशी खेलाडीहरु जिमी निशम, मार्टिन गप्टिल, बेन कटिङ, आन्द्रेश गौस जस्ता खेलाडीको विकेट लिएका थिए।