सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा शनिबार भएको दोस्रो खेलमा विराटनगर किंग्समाथि कर्णाली याक्सले सात रनको रोमाञ्चक जित निकाल्यो।
टस हारेको कर्णाली १३३ रनमै अलआउट भएको थियो। जबाफी ब्याटिङ गरेको विराटनगर पनि ब्याटिङमा सफल हुन सकेन। विराटनगरले १२६ रन मात्र जोड्न सक्यो।
दुवै टोलीका बलरले उत्कृष्ट खेल देखाएको खेल विराटनगरका देब्रे हाते तीव्र गतिका बलर प्रतिश जिसीका लागि अविस्मरणीय बन्यो। उनी एनपिएल खेल्न आएका चर्चित विदेशी खेलाडीमध्येका भारतीय टोलीका पूर्व ओपनर शिखर धवनको विकेट लिन सफल भए।
धनवलाई प्रतिशले दोस्रो ओभरको तेस्रो बलमा पाँच रन बनाएको अवस्थामा बोल्ड गरेका थिए।
कम्तिमा चार खेलका लागि कर्णालीका लागि सम्झौता गरेका धवनले आगामी खेल/नखेल्ने पक्का छैन।
धवनको विकेट लिएका प्रतिश जिसीले धवन राम्रा खेलाडी भएको बताउँदै उनको विकेट लिनका लागि कुनै विशेष योजना नबनाएको बताए।
‘धवन लिजेन्ड खेलाडी हुन्। तर मैदानमा गएपछि सबै खेलाडीलाई नर्मल मानिरहेको हुन्छु। मैदानमा गएपछि सबै खेलाडीका लागि एउटा प्लान हो। अरू बेला जस्तै आफ्नो योजनामा बलिङ गरेको थिए। धवनका लगि कुनै योजना बनाएको थिइन,’ प्रतिशले भने।
जारी एनपिएलमा धवनको विकेट लिने पहिलो नेपाली बनेकामा भने उनले खुसी व्यक्त गरे।
‘एनपिएलमा धनवको विकेट लिने पहिलो नेपाली बलर भएको विषयमा भने थाहा थिएन। यो थाहा पाउँदा खुसी लाग्यो,’ उनले भने।
यसअघिका तीनमध्ये दुई खेलमा आउट हुँदा धवनलाई विदेशी खेलाडीले विकेट लिएका थिए। जनकपुरविरूद्ध खेल्दा हर्ष थाकर र चितवनविरूद्ध खेल्दा लोफ्टी इटनले धवनको विकेट लिएका थिए।
प्रतिशले कर्णालीविरूद्धको खेलमा विराटनगरले खराब ब्याटिङ गरेको पनि स्विकार गरे। साथै आफूलाई ब्याटिङका लागि दिइएको जिम्मेवारी पूरा गर्न नसकेकोमा पनि दु:ख व्यक्त गरे।
चार खेलमा तीन खेलमा पराजित भएपछि विराटनगरलाई प्लेअफमा पुग्न गाह्रो भएको उनले बताए। त्यसका लागि बलियो योजना बनाएर अघि बढ्नु पर्ने उनको भनाइ छ।
त्रिवि मैदानको विकेट हेरेर बलिङ गर्नुपर्ने उनले बताए। ‘यहाँको विकेट ट्रिकी भएपछि आफू पनि बाठो भएर बलिङ गर्नुपर्छ,’ उनले भने।