सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले सुरूवाती तीन खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ।
ब्याटिङ जस्तै बलिङमा पनि सुदूरको प्रदर्शन उस्तै छ। एनपिएल सुरू हुनुअघि सुदूरपश्चिमले आफ्नो टोलीको गीत सार्वनजिन गर्दै उत्कृष्ट खेल देखाउने बताएको थियो।
गीतको बोल थियो, ‘सुदूरको शान, मैदानमा तुफान’। गीतको बोल जस्तै सुदूरपश्चिमले मैदानमा तुफान ल्याइरहेको छ भने तीन खेलमा शानदार प्रदर्शन गर्दै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ।
पहिलो खेलमा सुदूरले विराटनगर किंग्सलाई ९० रनले हराउँदै शानदार सुरूवात गर्यो। खेलमा सुदूरले कप्तान दीपेन्द्रसिंह ऐरीले २४ बलमा ५७ रन जोडेपछि १८२ रनको योगफल तयार गरेको थियो।
जबाफी ब्याटिङ गरेको विराटनगर ९२ रनमै अलआउट भयो। बलिङमा सुदूरका स्कट कुगेलेइन र अभिनास बोहराले तीन तीन विकेट लिएका थिए।
दोस्रो खेलमा सुदूरले काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गर्यो। ब्रान्डन माक्मलेनको ५३ रन र दीपेन्द्रको ४३ रनको मद्दतमा सुदूरले १६७ रन जोडेको थियो। जवाफमा काठमाडौं ९४ रनमै अलआउट भयो। खेलमा सुदूरका युवा बलर नरेन साउदले ५ विकेट लिँदा काठमाडौं निरीह सावित भएको थियो।
शनिबार भएको तेस्रो खेलमा पनि सुदूरको प्रदर्शन उस्तै रह्यो। लुम्बिनी लायन्सविरूद्ध विहानको खेलमा पहिले ब्याटिङ गरे पनि सुदूरले १८७ रन जोड्यो।
उसका लागि ओपनर सइफ जइबले ९० रन जोड्दा कप्तान दीपेन्द्रसिंह ऐरीले १९ बलमा ३९ रन जोडे। जवाफमा लुम्बिनीले १४२ रन जोड्न सक्यो।
सुदूरका लागि सबै खेलाडीले उस्तै खेलिरहेका छन्। न्युजिल्यान्डका बलिङ अलराउन्डर स्कट कुगेलेइन, इंग्ल्यान्डका ब्याटिङ अलराउन्डर सइफ जइब र स्कटल्यान्डका ब्याटिङ अलराउन्डर ब्रान्डन माक्मलेनले प्रभावशाली खेल देखाइरकेका छन्।
कप्तान दीपेन्द्रसिंह ऐरीले पनि अलराउन्ड प्रदर्शन गरिरहेका छन्। युवा बलर नरेन साउदसहित ओपनिङको भूमिका रहेका विनोद भण्डारी पनि त्रिवि मैदानमा आत्मविश्वासी देखिएका छन्। राष्ट्रिय टोलीका तीव्र गतिका बलर अभिनास बोहराको प्रभाव पनि सुदूरपश्चिममा उस्तै छ।
लगातार तीन जित निकालेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएपछि सुदुरपश्चिमका प्रशिक्षक जगत टमाटाले जितको कारण खेलाडीले दिएको जिम्मेवारी पूरा गर्नु तथा सपोर्ट स्टाफको मिहिनेत भएको प्रतिक्रिया दिएका छन्।
उनले आफ्नो टोलीको गतिको बोल जस्तै खेल भइरहेको बताए।
‘सुदूरको शान मैदानमा तुफान हो,’ टमाटाले भने, ‘हामीलाई समर्थन गर्ने सबै समर्थकलाई धन्यवाद दिन चाहान्छु।’
उनले अघि भने, ‘हामीले राम्रो खेलेर जितेका हौं। सबै खेलाडीलाई आ-आफ्नो जिम्मेवारी दिएको छ। सबैले त्यो जिम्मेवारी पूरा गरिरहेका छन्।’
शनिबार लुम्बिनीविरूद्धको खेलमा दुवै इनिङ्ग्समा राम्रो सुरुवात गर्न सकेको उनको प्रतिक्रिया छ।
‘लुम्बिनीविरूद्ध ब्याटिङमा सेफले खेल नियमन्त्रण गर्यो। विनोद र सेफलाई दिएको जिम्मेवारी पूरा गरे,’ उनले भने, ‘बलिङमा पनि हामीले राम्रो सुरुवात गर्न सक्यौं। पावरप्लेमा विकेट लिकाल्न सक्यौं। त्यसले गर्दा लुम्बिनी दबाबमा आयो। तर पनि लुम्बिनीका विवेक यादवले राम्रो क्रिकेट खेल्यो। नेपालीले राम्रो खेलको देख्दा एकदमै खुसी लाग्छ।’
लुम्बिनीको पावरप्लेमै पाँच विकेट लिए पनि आफूहरू ढुक्न नभएको उनले बताए।
‘पावरप्लेमा पाँच विकेट आए पनि ढुक्क हुन नसक्ने स्थिति छ। टी-२० मा कसरी ढुक्क हुन सकिन्छ र। किनभने लुम्बिनीका विवेक यादवले पछाडि आएर त्यसरी हान्यो। विकेट राम्रो हुँदै गएपछि उसले राम्रो हान्न सफल भयो। तर पनि हाम्रा बलरले राम्रो प्रदर्शन गरेर जिताए,’ टमाटाले भने।
उनले सेफ, कुगेलेइन र माक्मलेन तीन जना विदेशी खेलाडी सफल भएको तथा त्रिवि मैदानमा विनोद भण्डारीको आत्मविश्वास बढी भएकाले सुदूरलाई सजिलो भएको बताए। अपेक्षाअनुसार खेलाडी चल्दा आफूहरूले प्रतियोगितामा लय समातेको पनि टमाटाको भनाइ छ।
खेलपछि लुम्बिनीका भारतीय प्रशिक्षक नन्दन फाडनिसले सुदुरपश्चिमका कप्तान दीपेन्द्रको प्रशंसा गरे। उनले आइपिएल खेल्न सक्ने नेपाली खेलाडीको शीर्ष सूचीमा दीपेन्द्र भएको पनि बताए।
‘मेरो हिसाबले दीपेन्द्रले आइपिएल खेलिसकेको हुनुपर्ने हो। त्यसबाहेक रोहित पौडेल छन्, गुल्सन झा पनि अघि छन्। मैले दुईतीन जनाको नाम लिएँ तर धेरै नेपाली खेलाडीले आइपिएल खेल्न सक्छन्,’ नेपालको राष्ट्रिय टोलीका सहायक प्रशिक्षक रहिसकेका उनले भने, ‘एकवर्ष नेपालको राष्ट्रिय टोलीसँग पनि रहेको छु। यहाँ धेरै ट्यालेन्ट खेलाडीहरू छन्। उनीहरूले जति एक्सपोजर पाउँछन् त्यतिनै आत्मविश्वास आउनेछ। एनपिएल उनीहरूको लागि राम्रो प्लाटफर्म हुनेछ। राम्रा विदेशी खेलाडीसँग खेल्न पाउनेछन्। यसले धेरै ग्रोथ हुनेछ।’