सिद्धार्थ बैंकले नेपाल प्रिमियर लिग (एनपिएल) को पाँच वर्ष मुख्य प्रायोजकका लागि नेपाल क्रिकेट संघ (क्यान) सँग सम्झौता गरिसकेको छ।
शुक्रबार क्यान र सिद्धार्थ बैंकबीच पाँच वर्षको एनपिएलको प्रायोजनका लागि सम्झौता भएको सार्वजनिक गरिएको थियो।
कार्यक्रममा क्यानका सचिव पारस खड्काले प्रायोजन नेपाली खेलकुदको अहिलेसम्मकै ठूलो भएको बताएका थिए। तर उनले रकम भने खुलाएका थिएनन्।
सेतोपाटीलाई प्राप्त सूचनाअनुसार सिद्धार्थ बैंकले पाँच वर्षको प्रायोजनबापत क्यानलाई २० करोड दिनेछ। जसमा वर्षको ४ करोड हुन आउछ।
क्यानले मुख्य प्रायोजक घोषणा गरेकै कार्यक्रममा एनपिएलका सबै खेल भारतीय स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्सबाट आउने सार्वजनिक गरेको थियो।
एनपिएलका खेल देखाएमार्फत क्यानले केहि रकम खर्च गरेको क्यानका सचिव पारस खड्काले बताएका थिए।
एनपिएलमा आठ वटा टिमले प्रतिस्पर्धा गर्दैछन्। सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, कर्णाली याक्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुन लागेको हो।
एनपिएल मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ। मंसिर १६ गते उपनिर्वाचन हुने भएकाले त्यो दिन खेल नहुने क्यानको भनाइ छ। मंसिर १६ गते कीर्तिपुर नगरपालिकासहित अन्य रिक्त स्थानीय तहमा निर्वाचन हुने भएकाले सो दिन खेल नहुने क्यानको भनाइ छ।