श्रीलंकाका पूर्वटेस्ट क्रिकेटर कौशल सिल्भालाई हङकङको पुरुष क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ।
हङकङले एसिया कप कप खेल्नुअघि उनलाई नियुक्ति गरिएको हो। हङकङले एसिया कपको उद्घाटन खेल सेप्टेम्बर ९ मा अफगानिस्तानविरुद्ध खेल्नेछ।
सिल्भाले सन् २०११ देखि २०१८ सम्म श्रीलंकाका लागि ३९ टेस्ट खेलेका थिए। खेलाडी जीवनबाट संन्यास लिएपछि उनले सन् २०१९ देखि श्रीलंका, इंग्ल्यान्ड र अस्ट्रेलियामा प्रशिक्षणको अनुभव बटुलेका छन्।
तर, ३९ वर्षीय सिल्भाले कुनै अन्तर्राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेको यो पहिलो पटक हो। उनी प्रथम श्रेणीको क्रिकेटमा एक उत्कृष्ट विकेटकिपर-ओपनर थिए, जहाँ उनले २०९ खेलमा ४१ शतकसहित १३,९३२ रन बनाएका थिए। यीमध्ये तीन शतक उनले टेस्ट क्रिकेटमा प्रहार गरेका थिए।
क्रिकेट हङकङ, चाइनाका अध्यक्ष बुर्जी श्राफले एक प्रेस विज्ञप्तिमार्फत यो नियुक्ति बोर्डको योजनाअनुरूप भएको बताएका छन्।
हङकङको पछिल्लो प्रतियोगिता सिंगापुरमा भएको एसिया प्यासिफिक क्रिकेट च्याम्पियन्स ट्रफी थियो, जहाँ टोली फाइनलमा मलेसियासँग पराजित भएको थियो।
अब सिल्भाको नियुक्तिपछि हङकङले टी-२० एसिया कपको समूह 'बी' मा आफ्नो प्रदर्शन सुधार्ने लक्ष्य राखेको छ। समूह चरणमा हङकङले बंगलादेश र श्रीलंकाको पनि सामना गर्नेछ।