नेपाली यु–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले देशका लागि इतिहास कायम गर्न पाउँदा धेरै खुशी भएको र आगामी विश्वकपमा थप बलियो भएर तयारी गर्ने बताएकी छिन्।
संयुक्त अरब इमिरेट्समा बुधबार सम्पन्न आइसिसी यु–१९ महिला विश्वकपको एशियाली छनोटमा च्याम्पियन हुँदै नेपालले सन् विश्वकप २०२५ मा मलेसियामा हुने आइसिसी यु–१९ महिला विश्वकपमा स्थान बनाएको थियो। यससँगै नेपाली महिला क्रिकेटले पनि पहिलोपल्ट विश्वकपमा स्थान बनाउँदै इतिहास बनाएको हो।
बिहीबार साँझ स्वदेश फर्कने क्रममा कप्तान पूजाले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा देशको लागि महिला क्रिकेटमा नयाँ इतिहास कायम गर्नु गर्वको क्षणको बताइन्। उनले एशिया कप र विश्वकप खेल्नु नेपाली टोलीको लागि सबैभन्दा ठूलो अवसरको रूपमा पनि रहेको बताएकी छन्।
एशिया कप र विश्वकपमा अहिलेभन्दा थप बलियो भएर तयारी गर्ने पनि कप्तान पूजाको भनाइ छ।
उपकप्तान सोनी पाख्रिनले सबैको लक्ष्य विश्वकपमा छनोट हुने रहेको र त्यहिँअनुरूप सबैले धेरै मिहेनत गरेको बताएकी छन् ।
राम्रो क्रिकेट खेल्यौं भने विश्वकपमा छनोट हुने सबैको विश्वास रहेको र त्यहिँअनुरूपमा युएईविरुद्ध खेल्दा सफलता मिलेको उपकप्तान सोनीको भनाइ छ। उनले यो सफलता प्राप्त गर्नु टोलीको लागि गर्विलो क्षण रहेको सोनीले बताइन्। उनले एसिया कप र विश्वकपमा पनि राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरिन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का, प्रवक्ता छुम्बि लामा लगायतले नेपाली यु–१९ क्रिकेट टोलीलाई स्वागत गरे।
सो अवसरमा राखेप सदस्यसचिव घिसिङले नेपाली महिला क्रिकेट पनि अर्को उचाईमा पुग्न पर्खाइमा रहेको र त्यो सफलता यु–१९ टोलीले दिलाउन सुखद पक्ष रहेको बताए। उनले अब यु–१९ महिला क्रिकेट टोलीलाई विश्वकप र एसिया कप छनोटका लागि जुन किसिमको तयारी आवश्यक पर्छ त्यसका लागि राखेप तयार रहेको बताए।
उनले राज्य विश्वकपको तयारीमा लगानी गर्न तत्पर रहेको बताए। साथै सदस्यसचिव घिसिङले राज्यले दिनुपर्ने पुरस्कारका लागि आफ्नै पहलमा कानून नै बनिसकेकाले घोषणा गर्न आवश्यक नै नरहेको प्रस्टाए।
—न्युज एजेन्सी नेपाल