भारतका चर्चित क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपिएल) का प्रत्येक खेलबापत ३० हजार डलर पाउने भएका छन्।
धवनलाई कर्णाली याक्सले टोलीमा भित्र्याएको हो।
उनले कर्णाली याक्सबाट ४ खेल खेल्ने याक्सका लगानीकर्ता गृहेन्द्र घिमिरेले जानकारी दिए। उनी नोभेम्बर २९ तारिखमा नेपाल आउने छन्। धवनले ३० गते बिहान पशुपतिको दर्शन गर्नेछन्। लगत्तै दिउँसो हुने एनपिएल उद्घाटनमा सहभागी हुनेछन्।
धवनले एनपिलएलको पहिलो दिन कुनै खेल खेल्ने छैनन्।
'पहिलो दिन पूरा समय बसेर क्रिकेट हेर्ने र नेपाली फ्यानहरूसँग कुराकानी गर्ने कार्यक्रम छ,' घिमिरेले भने, 'उनले ४ वटा खेल खेल्ने छन्।'
धवनले खेल्ने प्रत्येक खेलको ३० हजार डलर (आजको मूल्यअनुसार ४० लाख ५० हजार) पाउने सम्झौता भएको उनले बताए।
'नेपालमा आउँदा उहाँले छुट दिनु भएको हो,’ घिमिरेले भने, 'नत्र त उहाँले सामाजिक सञ्जालमा एउटा पोस्ट गरेको पनि १ करोड भारतीय रुपैयाँसम्म लिनुहुन्छ।'
धवन डिसेम्बर ९ तारिखमा फर्कने छन्।
धवनले भारतीय क्रिकेटबाट संन्यास घोषणा गरिसकेका छन्। भारतले संन्यास घोषणाअघि कुनै पनि खेलाडीलाई अर्को देशमा खेल्न अनुमति दिँदैन। गत वर्ष अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट संन्यास लिएपछि उनलाई अर्को देशमा खेल्ने बाटो खुलेको थियो।
नेपाल प्रिमियर लिग मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ।
धवनले भारतका लागि आफ्नो पहिलो ओडिआई सन् २०१० मा अस्ट्रेलियाविरूद्ध विशाखापट्टनममा खेलेका थिए।
उनले १६७ खेलमा ६७९३ रन बनाएका छन्। धवनले ४४.११ को औसत र ९१.३५ को स्ट्राइक रेटमा रन बनाएका छन्।
उनको नाममा १७ शतक र ३९ अर्धशतक छ। आफ्नो टी-२० करियरमा धवनले ६८ खेलमा १७५९ रन बनाएका छन्। उनको ब्याटबाट ११ अर्धशतक प्रहार भएका छन्।
धवनले अन्तिम पटक सन् २०१८ मा टेस्ट खेल्ने मौका पाएका थिए।
उनले टेस्टमा ४०.६१ को औसतमा २३१५ रन बनाएका छन्। उनले टेस्टमा सात शतक र पाँच अर्धशतक प्रहार गरे। धवनले सर्वाधिक १९० रन हानेका छन्।