पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडी दर्ता सुरू गरिसकेको छ।
शनिबारदेखि नेपाली खेलाडीका लागि दर्ता गर्न क्यानले सुरु गरेको छ। एनपिएल खेल्न चहाने खेलाडीहरूका लागि तीन श्रेणी छुट्याइएको छ।
जसमा ए ग्रेडका खेलाडीको न्यूनतम १० लाख र अधिकतम १५ लाख रुपैयाँ छ। बी श्रेणीका खेलाडीको मुल्य न्यूनतम ५ लाख र अधिकतम १० लाख रुपैयाँ छ। सी श्रेणीका खेलाडीले न्यूनतम २ लाख र अधिकतम ५ लाख रुपैयाँ छ।
खेलाडीको दर्ता अन्तिम असोज १२ सम्म छ। त्यसपछि क्यानले दर्ता भएका खेलाडीको लागि अक्सन गर्नेछ।
यता एक टोलीमा अधिकतम चार जना विदेशी खेलाडी आबद्ध गर्न पाउनेछन्। विदेशी खेलाडीका लागि क्यानले टोलीहरुलाई सूची उपलब्ध गराएको छ। उपलब्ध गराएको सूची बाहेकका विदेशी खेलाडी ल्याउदा टोलीहरुले क्यानबाट स्वीकृति लिनु पर्नेछ।
एनपिएलमा विराटनगर, जनकपुर, काठमाडौं, चितवन, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी आठ भाग लिँदैछन्।
एनपिएल आगामी मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ।
यसअघि क्यानले कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आसिफ शेख, कुशल मल्ल र कुशल भुर्तेललाई मार्की खेलाडीको रूपमा घोषणा गरेको थियो। मार्की खेलाडीले पारिश्रमिक २० लाख रुपैयाँ पाउनेछन्।
रोहित पौडेल – लुम्बिनी
दिपेन्द्रसिंह ऐरी – सुदूरपश्चिम
कुशल भुर्तेल – पोखरा
सोमपाल कामी - कर्णाली
करण केसी – काठमाडौं
सन्दीप लामिछाने – विराटनगर
आसिफ शेख – जनकपुर
कुशल मल्ल – चितवन