अन्तर्राष्ट्रिय टी-२० खेलमा टेस्ट राष्ट्रलाई पराजित गर्ने अवसर नेपालले गुमाएको छ।
शनिबार सेन्ट भिसेन्टमा आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गतको तेस्रो खेलमा दक्षिण अफ्रिकाविरूद्ध अन्तिम बलमा दुई रन जोड्न नसक्दा नेपाल एक रनले स्तब्ध भयो।
एक रनको नमिठो हारसँगै नेपालको सुपर-८ को यात्रा समेत समाप्त भएको छ। सेन्ट भिसेन्टको किंग्सटाउनस्थित आर्नोस भेल रंगशालामा ११६ रनको सामान्य लक्ष्य पछ्याएको नेपाललाई अन्तिम ओभरमा जितका लागि आठ रन चाहिएको थियो।
जसमा गुल्सन झा स्ट्राइकमा थिए भने उनीविरूद्ध दक्षिण अफ्रिकाका आर्टनियल बार्टम्यान बलिङमा थिए। पहिलो र दोस्रो बलमा गुल्सनले रन लिएनन्।
तेस्रो बलमा वाइड योर्कर बल आए पनि गुल्सनले चौका प्रहार गरे। चौथो बलमा दुई रन लिएपछि नेपालको पक्षमा खेल आएको थियो।
दुई बलमा दुई रन चाहिएको स्थितिमा पाँचौ बलमा गुल्सनले रन लिएन सकेनन्। अन्तिम बलमा दुई रन लिए जित र एक रन बनाए सुपर ओभर हुने स्थितिमा गुल्सन एक रन लिने क्रममा रनआउट हुन पुगे। अनि नेपाली खेलाडी तथा समर्थक स्तब्ध भए।
खेलको अधिकांश बलमा नेपाल हाबी भए पनि नेपालले अन्तिम एक बलको ‘ब्याटल’ भने गुमाएको छ। अन्तिम बलकै ‘ब्याटल’ गुमाउदा खेल पनि नेपालको पक्षमा आउन सकेन।
त्यसअघि नेपालले राम्रो सुरुवात गरेको थियो। आठौं ओभरमा ओपनर कुशल भुर्तेल १३ रनमा आउट हुँदा नेपालले ३५ रन जोडेको थियो।
तर कुशल आउट भएको दुई बलपछि कप्तान रोहितकुमार पौडेल शून्यमा आउट हुन पुगे। दुवैलाई दक्षिण अफ्रिकाका तब्रेज शाम्सीले आउट बोल्ड गरे।
त्यसपछि अनिलकुमार साह र आसिफ शेखले नेपाललाई अघि बढाउन खोजे। दुईबीच तेस्रो विकेटका लागि ५० रनको साझेदारी भयो।
१४औं ओभरमा अनिल २४ बलमा २७ रन जोडेर आउट हुँदा नेपालले ८५ रन जोडेको थियो।
त्यसपछि ब्याटिङमा आएका दीपेन्द्रसिंह ऐरी १८औं ओभरमा ६ रनमा आउट भए। सोही ओभरमा सय रन पूरा गरेको नेपालका लागि सुखद हुन सकेन। ओपनिङ ब्याटर आसिफ शेख ४९ बलमा ४२ रन बनाएर आउट भए।
दीपेन्द्र र आशिफ दुवैको विकेट शाम्सीले नै लिए। शाम्सीले आठौं र १८औं ओभरमा घातक बलिङ गर्दा नेपालमाथि दबाब बनेको थियो। उनले चार ओभरमा १९ रन दिँदा चार विकेट लिए।
१९औं ओभरमा कुशल मल्ल एनरिच नोर्कियाबाट बोल्ड हुँदा नेपाल थप दबाबमा पुगेको थियो। सो ओभरको पाँचौ बलमा सोमपाल कामीले छक्का र अन्तिम बलमा दुई लिएर नेपाललाई अन्तिम ओभरमा ८ रन मात्र चाहिएको स्थिति बनाएका थिए।
तर अन्तिम ओभरमा बार्टम्यान र गुल्सनको ब्याटलमा बार्टम्यान नै अघि रहे र नेपाल स्तब्ध बन्यो।
त्यसअघि नेपालले उत्कृष्ट बलिङ गर्दा दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा ११५ रन मात्र जोड्न सक्यो। उसका लागि ओपनर रिजा हेनरिक्सले सबैभन्दा बढी ४३ रन जोडे।
सुरुवातमा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दा कुशल भुर्तेलले पनि साथ दिए। ऐरीले ४ ओभरमा २१ रन खर्चिदा ३ विकेट लिए भने ४ ओभरम १९ रन खर्चिदा ४ विकेट लिन सफल भए।
त्यसबाहेक नेपालका अरु बलरले विकेट लिन सकेनन्। सुरुवाती दुई गुमाएका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दा १९ रन दिए। उनले १२ बल डट फ्याँक्दा १ छक्का मात्र दिए। सन्दीपबाहेक नेपालका कुशल मल्लले अर्को छक्का दिँदा दक्षिण अफ्रिकाले ब्याटरले मात्र दुई छक्का हान्न सके।
सुरुवाती तीन खेलमा जित निकाल्न नकसेपछि नेपाल सुपर-८ मा पुग्न सकेनन्। नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ६ विकेटको हार बेहोर्दा श्रीलंकाविरुद्धको दोस्रो वर्षाका कारण रद्द भएको थियो।
अब नेपालले पर्सि समूहको अन्तिम खेलमा बंगलादेशविरुद्ध खेल्नेछ।