काठमाडौंस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई दोस्रो पटक पनि भिसा दिन अस्वीकार गरेको छ।
आइसिसी टी-२० विश्वकप २०२४ का लागि अमेरिका जाने तयारी गरिरहेका लामिछानेलाई दूतावासले भिसा दिन अस्वीकार गरेको स्रोतले जानकारी दिएको छ।
भिसा प्रक्रियाका लागि लामिछाने बिहीबार दूतावास पुगेका थिए।
यसअघि अन्तर्वार्ता दिन उनी गत जेठ ९ गते दूतावास पुगेका थिए। त्यसदिन भिसा दिन अस्वीकार गरेपछि उनी बिहीबार पुन: अन्तर्वार्ताका लागि दूतावास पुगेका थिए।
यसरी भिसा नदिएको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका थिए।
सामाजिक सञ्जालमा प्रश्न उठेपछि अमेरिकी दूतावासले भिसाबारे कुनै टिप्पणी गर्न नमिल्ने प्रतिक्रिया दिएको थियो। त्यससँगै विश्वकप खेल्न अमेरिका पुगेको टोलीलाई शुभकामना समेत दिएको थियो।
‘उपयुक्त भिसा वर्गका लागि योग्य हुने राष्ट्रिय क्रिकेट टोलीहरूका सदस्य विश्वकपमा प्रतिस्पर्धा गर्न समयमै अमेरिकाको यात्रा गर्न सक्षम होउन् भन्ने सुनिश्चित गर्न काठमाडौँस्थित अमेरिकी दूतावास र विश्वभरका अन्य अमेरिकी कन्सुलर पोस्टहरूले एकजुट भइ काम गरेका छन्। अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भएकोले हामी भिसाको कुनै केस विशेषबारे टिप्पणी गर्न सक्दैनौँ,’ दूतावासले भनेको थियो।
उच्च अदालत पाटनले लामिछानेलाई जिल्ला अदालत काठमाडौले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्टाउँदै सफाइ दिएको थियो।
त्यसपछि उनलाई नेपाल क्रिकेट संघले निलम्बन फुकुवा गर्दै विश्वकपका लागि नेपाली टिममा राख्नका लागि आइसिसीसँग सहमति लिएको थियो। आइसिसीको सहमतिसँगै सन्दीप अमेरिका जान लागेका थिए। हाल नेपाली टोली विश्वकपको तयारीका अमेरिकामा छ।
नेपालले अमेरिका र क्यानडासँग डालासमा दुई वार्मअप खेल खेल्नपछि विश्वकपको औपचारिक खेल खेल्नेछ।
टी-२० विश्वकप २०२४ मा नेपाल समूह 'डी' मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। क्यानडासँग अभ्यास खेल खेलिसकेको छ भने अमेरिकासँग बिहीबार साँझ खेल्दैछ।
नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ अमेरिकाको डालास र जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।
अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्। पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी-२० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदैछन्।
विश्वकपमा ५५ खेल हुनेछन्। सुरूमा २० टोलीलाई ५-५ टिमको ४ समूहमा विभाजन गरिएको हो। चार समूहका शीर्ष २-२ टोली गरी कुल ८ टोली सुपर-८ मा पुग्नेछन्। सुपर-८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन्। सुपर-२ को दुई समूहका शीर्ष २-२ टोली सेमिफाइनलमा पुग्नेछन्।
यो पनि: नेपाली क्रिकेट टोलीलाई अमेरिकी दूतावासको शुभकामना, सन्दीपको भिसाबारे टिप्पणी नगर्ने
सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा