नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर पारस खड्काले सन् २०३९ सम्ममा नेपाललाई विश्वकप जिताउने लक्ष्य लिइएको बताएका छन्।
यो कुरा उनले बुधबार बलियो नेपाल कप यु-१६ क्रिकेट प्रतियोगिताको घोषणा कार्यक्रममा भनेका हुन्।
'हामीसँग अझै १९ वर्ष बाँकी छ। बलियो नेपाल कप त्यसको सुरुवात हुन सक्छ,' एक दशक बढी नेपाली क्रिकेट टिमको नेतृत्व गरेका पारसले भने, 'पहिला हामीले २०१३-१४ सम्ममा विश्वकप खेल्न सक्छौं भन्दा मानिसहरू हाँस्थे।'
उनले सपना देख्न छाड्न नहुने बताउँदै अघि भने,'सपना नै देख्नु छ भने हामीले ठूलो सपना देख्न किन नहुने।'
विश्वकप जित्ने आधारको विषयमा सोधिएको प्रश्नमा पारसले भने,'हामीले बलियो नेपाल कप आयोजना गर्नुको 'थिम' सन् २०३९ सम्ममा नेपाललाई विश्व जिताउने बनाएका हौं। विश्वकप जित्ने कुरा धेरै-धेरै ठूलो सपना हो। यसका लागि सरकार र क्यानले सबैभन्दा बढी सोच्नु पर्छ जस्तो लाग्छ।'
नेपाली क्रिकेटको जग बलियो बनाउन विद्यालयस्तरका कार्यक्रमलाई जोड दिनु पर्ने पारसको भनाइ छ।
'हामीले विद्यालयस्तरका क्रिकेट प्रतियोगिता गर्न जरुरी छ। स्थानीय स्तरमा क्रिकेट लैजान सकियो भने विश्वकप जित्ने बाटो बन्दै जान्छ जस्तो लाग्छ।'
विश्वकप जित्ने सपना पूरा गर्नअघि नेपालले टेस्ट मान्यता पाउन जरुरी भएको पारसको भनाइ छ।
'हामीले पहिला त टेस्ट मान्यता पाउनु पर्छ। अनि हामी विश्वकप जित्ने लक्ष्यमा अघि बढ्न सक्छौं। विश्वकप २०३९ कै जित्ने भन्ने पनि होइन। त्यो २०४९ वा २०२९ मै पनि हुन सक्छ,' उनले भने।
बलियो नेपाल कप आगामी चैत २१ देखि दाङको लमहीमा आयोजना हुँदैछ। जुन क्विन्स इभेन्ट्स म्यानेजमेन्टले आयोजना गर्दैछ। कपलाई बलियो नेपाल पोषण अभियानले सहयोग गर्नेछ। क्विन्स इभेन्ट्स र बलियो नेपाल दुवैमा संस्थामा पारस आबद्ध छन्।
कार्यक्रममा राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले सन् २०३९ सम्ममा विश्वकपको उपाधि जित्न ग्रासरुट क्रिकेटमा लागानी गर्नु पर्ने बताए।
'सन् २०३९ सम्ममा विश्वकपको उपाधि जित्नका लागि हामीले ग्रासरुट क्रिकेटमा लगानी गर्नुपर्छ। स्कुलस्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुनुपर्छ,' मल्लले भने, 'हामीले नेपालका ग्रामिण भेगमा रहेका प्रतिभालाई अहिलेदेखि नै खोज्नुपर्छ।'